५ आश्विन २०८३, सोमबार | September 21, 2026

इन्जिनियर रबिन्द्र अधिकारी कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्दै


September 21, 2026
5.6k
Shares

काठमाडौं । इन्जिनियर रबिन्द्र अधिकारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

व्यास नगरपालिका–८ बाट पेशागत विषयविज्ञतर्फ क्षेत्रीय प्रतिनिधिमा चयन भएसँगै अधिकारीले महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।

अधिकारीका अनुसार नेपाली कांग्रेसको विधानले पेशागत क्षेत्रका विज्ञहरूलाई पार्टीको मूलधारमा सहभागी गराउने उद्देश्यले पेशागत विषयविज्ञ प्रतिनिधिको व्यवस्था गरेको छ। कानून व्यवसायी, चिकित्सक, इन्जिनियर, स्वास्थ्यकर्मी, चार्टर्ड एकाउन्टेन्ट, पत्रकार, शिक्षक, प्राध्यापक, प्राज्ञ तथा अवकाशप्राप्त राष्ट्रसेवकजस्ता आ–आफ्नो पेशा र ज्ञानको क्षेत्रमा स्थापित व्यक्तिहरूलाई राजनीतिक मूलधारमा जोडिन अवसर दिनु लोकतान्त्रिक राजनीतिमा ज्ञान, दक्षता, अनुभव र विशेषज्ञताको सम्मान भएको अधिकारीको भनाइ छ।

सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) का वर्तमान सचिवसमेत रहेका अधिकारीले पेशागत अनुभवलाई राजनीतिक जिम्मेवारीसँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको बताएका छन्।

अधिकारीले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्व विज्ञ सञ्चालकका रूपमा समेत जिम्मेवारी सम्हालेका छन्। उनले उक्त संस्थामा करिब एक वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय रहेका अधिकारी नेपाल विद्यार्थी संघ, एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका संस्थापक सदस्य, पूर्व इकाई अध्यक्ष तथा स्ववियु कोषाध्यक्षका रूपमा समेत काम गरिसकेका छन्।

इन्जिनियरिङ पेशासँगै विद्यार्थी राजनीति र पेशागत संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अधिकारीले अब कांग्रेसको नीति निर्माण र निर्णय प्रक्रियामा पेशागत क्षेत्रको अनुभव तथा विज्ञतालाई प्रभावकारी रूपमा जोड्ने लक्ष्यसहित महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।

प्रतिक्रिया