१५औँ महाधिवेशन : सभापतिमा एकल दाबीको संकेत, पदाधिकारीमा दर्जनौँको भिडन्त
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको दृश्य रोचक बन्दै गएको छ। नेताहरूले प्यानलगत प्रतिस्पर्धा नहुने दाबी गरिरहेका छन्, तर सभापतिबाहेकका पदमा आकांक्षीको संख्या बढ्दै जाँदा महाधिवेशनमा वास्तविक प्रतिस्पर्धा भने चर्किने संकेत देखिएको छ।
सभापति पदमा अहिलेसम्म गगन थापालाई चुनौती दिने गरी अर्को प्रमुख उम्मेदवारी स्पष्ट रूपमा अगाडि नआएको नेताहरूको दाबी छ। केन्द्रीय सदस्य मधु आचार्यले थापाबाहेक उम्मेदवारी नै नपर्ने भन्न नसकिने भए पनि उनलाई चुनौती दिने वा समान हैसियतमा देखिने अर्को नेता अहिलेसम्म नदेखिएको बताएका छन्।
तर सभापतिको दौड शान्त देखिए पनि उपसभापति र महामन्त्रीको दौड भने तात्दै गएको छ।
विशेष महाधिवेशनबाट उपसभापति बनेका विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पुनः उपसभापतिको आकांक्षामा छन्। त्यस्तै पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र देउवा समूहबाट अलगिँदा नेतृत्वदायी भूमिका खेलेकी महालक्ष्मी उपाध्याय ‘डिना’ पनि उपसभापतिको आकांक्षीका रूपमा चर्चामा छन्।
उपसभापतिका लागि आकांक्षी थपिँदै जाँदा कांग्रेसमा अहिलेको मुख्य चासो भने महामन्त्रीको दौडतर्फ देखिएको छ।
बहालवाला महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे नै पुनः महामन्त्रीका आकांक्षी छन्। विशेष परिस्थितिमा बनेको कार्यसमितिबाट महामन्त्री बनेकाले कम्तीमा एक कार्यकाल पूरा गर्ने चाहना स्वाभाविक रहेको कांग्रेसका नेताहरूको भनाइ छ।
तर उनीहरूलाई चुनौती दिने आकांक्षीको सूची पनि लामो छ। उदयशमशेर राणा, मधु आचार्य र नैनसिंह महरलगायतका नेताहरू महामन्त्रीका लागि मैदानमा देखिएका छन्। १४औँ महाधिवेशनमा पदाधिकारीको आकांक्षा राखेर अन्तिम समयमा पछि हटेका कतिपय नेताहरूले यसपटक आफ्नो दाबी पुनः अघि सारेका छन्।
१४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित जीवन परियार पनि उपसभापति वा महामन्त्रीमध्ये कुनै एक पदमा जाने तयारीमा रहेको कांग्रेस वृत्तमा चर्चा छ।
त्यस्तै विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका डिला संग्रौला, उदयशमशेर राणा, प्रकाश स्नेही रसाइली, बहादुरसिंह लामा, मुक्तादेवी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढामध्ये पनि कतिपयले पदाधिकारीमा आफ्नो दाबी अघि सार्ने तयारी गरिरहेका छन्।
प्यानल छैन, तर प्रतिस्पर्धा रोकिँदैन
कांग्रेस नेताहरूका अनुसार यसपटक विगतका महाधिवेशनमा जस्तो सभापतिको नेतृत्वमा पूरा प्यानल बनाएर चुनावमा जाने अभ्यास नहुन सक्छ। सभापति थापा पनि प्यानल बनाउने पक्षमा नरहेको उनीहरूको दाबी छ।
तर यसको अर्थ पदाधिकारीमा प्रतिस्पर्धा नहुने भने होइन।
केन्द्रीय सदस्य मधु आचार्यका अनुसार पदाधिकारीमा सकेसम्म सहमतिको प्रयास हुनेछ। सहमति जुट्न नसकेको अवस्थामा भने निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना छ।
सभापति थापाले पनि हालै महाधिवेशनमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताएका छन्। उनका अनुसार प्रतिस्पर्धाबाट जिम्मेवारी पाउने नेतृत्वले जिम्मेवारी नपाउने नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेछ।
यसले कांग्रेसको १५औँ महाधिवेशनमा विगतको जस्तो ‘एक सभापति–एक प्यानल’ भन्दा व्यक्तिगत उम्मेदवारी र बहुकोणीय प्रतिस्पर्धाको सम्भावनालाई बल दिएको छ।
नेविसंघको दबदबा कि भूगोलबाट नयाँ अनुहार ?
विशेष महाधिवेशनपछि कांग्रेसको कार्यकारी तहमा नेपाल विद्यार्थी संघको पृष्ठभूमिबाट आएका नेताहरूको प्रभाव बलियो देखिन्छ।
सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे विद्यार्थी राजनीतिबाट पार्टीको नेतृत्वमा पुगेका हुन्।
तर नियमित महाधिवेशनको तयारीसँगै पार्टीभित्र अर्को बहस पनि सुरु भएको छ—भ्रातृ संस्थाबाट आएका नेतासँगै लामो समय भूगोलमा संगठन निर्माण गरेका नेताहरूलाई पनि कार्यकारी जिम्मेवारीमा ल्याउनुपर्ने।
कांग्रेसका एक शीर्ष नेताका अनुसार पार्टीका महत्वपूर्ण जिम्मेवारीमा तल्लो तहदेखि काम गरेका नेताहरूलाई अवसर दिनुपर्ने आवश्यकता छ। नेविसंघ र तरुण दलको पृष्ठभूमिबाट आएका नेताहरू मात्र कार्यकारी तहमा पुग्ने अवस्था बनेमा भूगोलमा काम गरेका नेताहरूको अवमूल्यन भएको सन्देश जान सक्ने उनको भनाइ छ।
१७ पदाधिकारी, आकांक्षीको चाप
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ। त्यसमध्ये ६१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ।
विधान संशोधनसँगै पदाधिकारीको संख्या पनि १४ बाट बढाएर १७ पुर्याइएको छ। आठ सहमहामन्त्री समावेशिताका आधारमा निर्वाचित हुनेछन् भने तीन सहमहामन्त्री मनोनीत गर्ने अधिकार सभापतिलाई छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट तीन सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था पनि छ।
त्यसैगरी ३५ वर्षमुनिका २१ जना युवालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा यी व्यवस्थाले कांग्रेसभित्र नेतृत्वका लागि आकांक्षीको दायरा अझ फराकिलो बनाएको छ।
एकातिर सहमतिको प्रयास, अर्कोतिर पदाधिकारीको दौड
कांग्रेसभित्र अहिले दुईवटा दृश्य एकैसाथ देखिन्छन्।
एकातिर पार्टी नेतृत्वले सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने र सहमतिको वातावरण बनाउने प्रयास गरिरहेको छ । अर्कोतिर उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्।
सभापति थापाले पनि पार्टी एकताका लागि आफू हदैसम्म लचक हुन तयार रहेको बताएका छन्।
त्यसैले १५औँ महाधिवेशनको मुख्य प्रश्न अहिले ‘कुन प्यानल जित्छ ? ’ भन्दा ‘कुन–कुन नेता कुन पदमा पुग्छन्रु’ भन्ने दिशातर्फ मोडिएको देखिन्छ।
प्यानल नबन्ने दाबीबीच व्यक्तिगत उम्मेदवारी बढ्दै जाँदा कांग्रेसको आगामी महाधिवेशन सहमति र प्रतिस्पर्धाको मिश्रित चुनाव बन्ने संकेत देखिएको छ।


