१५औँ महाधिवेशनमा उमेशजंग रायमाझीले गरे उपसभापति वा महामन्त्रीमा उठ्ने घोषणा
भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला भोजपुरबाट केन्द्रीय सदस्य उमेशजंग रायमाझीले उपसभापति वा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोजपुर जिल्लाका ८१ वटै वडामा अधिवेशन सम्पन्न भइसकेको छ। रायमाझीका अनुसार सबै ८१ वडामा प्रतिनिधि छनोट सर्वसम्मत रूपमा निर्विरोध भएको छ। क्षेत्रीय प्रतिनिधिमा नेतृत्व तहका अधिकांश नेताहरू समेटिएको उनले बताएका छन्।
रायमाझीले जिल्लामा सहमतिको वातावरण निर्माण हुँदै गएको दाबी गर्दै पालिका, प्रदेश हुँदै केन्द्रसम्म पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि आफूले पहल गरिरहेको बताए।
तर, भोजपुरमा सहमतिको प्रयास गरिरहँदा स्वयं रायमाझी भने केन्द्रीय नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। उनले आगामी महाधिवेशनमा उपसभापति वा महामन्त्रीमध्ये एक पदमा उम्मेदवारी दिने जानकारी दिएका छन्।
लामो समयदेखि कांग्रेसको संगठन र विद्यार्थी राजनीतिमा सक्रिय रायमाझीको दाबीलाई पार्टीभित्रको पुस्तान्तरण र युवा नेतृत्वको बहससँग जोडेर हेरिएको छ। उनी नेपाल विद्यार्थी संघको राजनीतिमा २०४८ सालदेखि सक्रिय भएका थिए। विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेका रायमाझीले नेविसंघको जिल्ला नेतृत्वदेखि केन्द्रीय उपाध्यक्ष हुँदै महामन्त्रीसम्मको जिम्मेवारी सम्हालेका छन्।
रायमाझी २०५३ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए। राजनीतिक गतिविधिका क्रममा उनले साढे तीन वर्षभन्दा बढी समय जेल जीवनसमेत बिताएका छन्।
पार्टी संगठनमा लामो अनुभव बोकेका रायमाझी १४औँ महाधिवेशनमा खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। अहिले उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्।
१५औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र पदाधिकारीका आकांक्षीहरूको दौड तीव्र बनेको छ। यही क्रममा रायमाझीले आफूलाई उपसभापति वा महामन्त्रीका दाबेदारका रूपमा औपचारिक रूपमा अघि सारेका हुन्।
कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
रायमाझीको उम्मेदवारीले महाधिवेशनमा लामो राजनीतिक अनुभव भएका नेतासँगै नयाँ पुस्ताका नेताहरूको पदाधिकारी दाबीलाई समेत थप चर्चामा ल्याएको छ।



