४ आश्विन २०८३, आइतबार | September 20, 2026

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ, विराटनगर लगियो


September 20, 2026
166
Shares

काठमाडौँ । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन्। मोरङको बेलबारीस्थित प्रहरीले दाहाललाई पक्राउ गरी विराटनगर लगेको बताइएको छ।

राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाललाई सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। उनलाई अहिले विराटनगर लगिएको र आजै काठमाडौँ ल्याउने तयारी रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै बताइएको छ।

दाहाल लामो समयदेखि समसामयिक राजनीति, शासन व्यवस्था तथा राज्य सञ्चालनका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्। उनले विभिन्न राजनीतिक तथा शासनसम्बन्धी विषयमा आलोचनात्मक धारणा राख्दै आएका छन्।

दाहाल पक्राउ परेको विषयमा त्रिमूल नेपालले भने आपत्ति जनाएको छ। संगठनले उनको पक्राउलाई आफूहरूले उठाउँदै आएका राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी प्रश्नमाथिको धरपकडका रूपमा व्याख्या गर्दै घटनाले वर्तमान शासन व्यवस्थाको चरित्रमाथि प्रश्न उठाएको जनाएको छ।

यद्यपि, दाहाललाई कुन आरोप वा कानुनी आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले सार्वजनिक रूपमा स्पष्ट विवरण दिएको छैन। त्यसैले पक्राउको वास्तविक कारण र उनीमाथि लगाइएको अभियोगबारे आधिकारिक विवरण आउन बाँकी छ।

दाहालको पक्राउसँगै उनको राजनीतिक गतिविधि, पछिल्ला सार्वजनिक अभिव्यक्ति र प्रहरी कारबाहीको कानुनी आधारबारे चासो बढेको छ।

प्रतिक्रिया