३१ भदौ २०८३, बुधबार | September 16, 2026

लिङदेनलाई रविन्द्र मिश्रको कडा जवाफ– ‘अति भयो, झूटको पनि सीमा हुन्छ’


September 16, 2026
83
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व नेता रविन्द्र मिश्रले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। मिश्रले सामाजिक सञ्जालमार्फत लिङदेनले आफूहरूमाथि पटक–पटक लगाएको आरोपको प्रतिवाद गर्दै ‘अति भएको’ बताएका हुन्।

मिश्रका अनुसार लिङदेनले पटक–पटक आफूलाई दोष दिँदा पनि आफूले सार्वजनिक रूपमा प्रतिवाद नगरी चुप लागेर बसेका थिए। तर, धनगढीमा लिङदेनले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनलाई ‘विदेशी उक्साहट’मा भएको भन्दै आफूहरूमाथि आरोप लगाएपछि भने आफू चुप लागेर बस्न नसक्ने मिश्रको भनाइ छ।

मिश्रले चैत १५ गतेको प्रदर्शनबारे राप्रपाले चैत १४ गते नै जारी गरेको विज्ञप्ति स्मरण गराउँदै लिङदेनमाथि प्रश्न उठाएका छन्।

राप्रपाको उक्त विज्ञप्तिमा भनिएको थियो, ‘भोलि चैत १५ गते काठमाडौंको तीनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंक्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ।’

मिश्रले उक्त विज्ञप्ति पार्टीले जारी गरेको मात्र नभई लिङदेन स्वयंले सामाजिक सञ्जालमा समेत सेयर गर्दै ‘कार्यकर्ता पंक्ति र आम जनसमुदायलाई’ प्रदर्शनमा सक्रियतापूर्वक सहभागी हुन अपिल गरेको दाबी गरेका छन्।

त्यसैलाई आधार बनाउँदै मिश्रले प्रश्न गरेका छन्, ‘प्रदर्शन विदेशी उक्साहटमा हुँदै थियो भने तपाईँले पार्टीबाट विज्ञप्ति निकालेर अनि आफैँले कार्यकर्ता पंक्ति र आम जनसमुदायलाई प्रदर्शनमा सरिक हुन किन अपिल गरेको?’

मिश्रले आन्दोलनमा सहभागी हुन आह्वान गर्ने र आन्दोलन बिग्रिएपछि त्यसको जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन्।

‘चुप लागेर बस्यो भन्दैमा जे पनि भनिदिने? यति गम्भीर आरोप सजिलै लगाइदिने?’ भन्दै मिश्रले लिङदेनप्रति आक्रोश व्यक्त गरेका छन्।

उनले आफूले विगतमा लिङदेनका आरोपको प्रतिवाद नगरेको भए पनि अब भने त्यसलाई सहेर बस्न नसक्ने संकेत गरेका छन्। मिश्रले भनेका छन्, ‘आफैँ विज्ञप्ति निकालेर अनि सामाजिक सञ्जालमा अपिल गरेर सक्रियतापूर्वक सहभागी हुन भन्ने अनि आन्दोलन बिग्रिएपछि चोखो बन्न खोज्ने? झूटको पनि सीमा हुन्छ।’

मिश्रले लिङदेनको सार्वजनिक अभिव्यक्तिको भाषाशैलीप्रति समेत आपत्ति जनाएका छन्। उनले आफूहरूमाथि व्यक्तिगत तहमा समेत विभिन्न आरोप लगाइएको भन्दै प्रश्न गरेका छन्, ‘कसैलाई अरूको ओछ्यान तताउन गयो भनेको छ, कसैलाई बिक्यो भन्या छ, जसलाई जे मनलाग्यो त्यही भन्या छ। पार्टी अध्यक्ष भएर बोल्ने भाषा हो त्यो?’

मिश्रको पछिल्लो अभिव्यक्ति राप्रपाभित्रको पुरानो राजनीतिक मतभेद पुनः सतहमा आएको संकेतका रूपमा देखिएको छ। उनले आफ्नो भनाइमार्फत लिङदेनका पछिल्ला आरोपको तथ्य र विगतका पार्टी निर्णय तथा सार्वजनिक अपिलसँग तुलना गर्दै जवाफ दिएका छन्।

प्रतिक्रिया