३१ भदौ २०८३, बुधबार | September 16, 2026

रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको रञ्जिताको घोषणा


September 16, 2026
166
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीसँग जोडिएको विषयमा अब मौन नबस्ने घोषणा गरेकी छन् । लामो समयदेखि आफूले भोगेको पीडा, आफ्नो छोरा र आत्मसम्मानको विषय उठाउँदै श्रेष्ठले कानुनी बाटो रोजेको सार्वजनिक रूपमा बताएकी हुन्।

सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफूले वर्षौँसम्म सम्बन्धको मर्यादा, परिवारको सम्मान र आफ्नै संस्कारका कारण मौनता रोजेको उल्लेख गरेकी छन्। तर, समयसँगै केही पीडा झन् गहिरिँदै गएको भन्दै अब सम्बन्धित विषयलाई कानुनी प्रक्रियामार्फत अघि बढाउने उनले बताएकी छन्।

श्रेष्ठले आफ्नो छोराले बुबाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा अभाव महसुस गरेको उल्लेख गर्दै ‘आज म आफ्नो छोराका लागि उभिएकी छु, उसको भविष्यका लागि उभिएकी छु र आफ्नो आत्मसम्मानका लागि पनि उभिएकी छु’ भनेकी छन्।

उनले आफूले छोराको बालमनमा बुबाविरुद्ध घृणा नभरिदिएको पनि बताएकी छन्। उनका अनुसार बच्चाले आमाबुबाबीचको विवादको भार बोक्नु हुँदैन भन्ने सोचका कारण आफूले धेरै कुरा सहेर बसेकी थिइन्।

तर अब आफ्नो मौनतालाई सहमति नठान्न उनले चेतावनी दिएकी छन्।

‘लामो समयको मौनतापछि मैले कानुनी बाटो रोजेकी छु,’ श्रेष्ठले लेखेकी छन्, ‘यो प्रतिशोध होइन, कसैलाई अपमान गर्ने अभियान होइन। आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्ने मेरो अधिकार हो।’

श्रेष्ठले सामाजिक सञ्जालको बहसभन्दा कानुन र प्रमाणबाट विषयको टुंगो लाग्नुपर्नेमा जोड दिएकी छन्। कुनै काम कानुनविपरीत भएको भए त्यसको परिणाम सम्बन्धित व्यक्तिले सामना गर्नुपर्ने उनको भनाइ छ।

यद्यपि, उनले रेशम चौधरीलाई आफूले दोषी घोषणा नगरेको स्पष्ट पारेकी छन्। दोषी वा निर्दोष ठहर गर्ने अधिकार कानुनको भएको भन्दै उनले आफूले केवल आफ्नो भोगाइ र दाबीलाई सम्बन्धित निकायसमक्ष राख्ने बताएकी छन्।

‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिँदिनँ। म कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ। तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन,’ उनले भनेकी छन्।

श्रेष्ठले कानुनी अदालतसँगै मानिसको आफ्नै अन्तर्मनलाई पनि अर्को अदालतका रूपमा चित्रण गरेकी छन्। पद, पहुँच वा सामाजिक हैसियतले अन्तर्मनको हिसाबबाट उम्किन नसकिने उनको भनाइ छ।

उनले आफ्नो पोस्टको अन्त्यमा आफू युद्ध गर्न नभई ‘छोरा, अधिकार र आत्मसम्मानको पक्षमा उभिएको’ बताएकी छन्।

‘म शान्त छु। तर अब कमजोर छैन,’ श्रेष्ठले लेखेकी छन्, ‘म कसैसँग युद्ध गर्न निस्केकी होइन—म मेरो छोरा, मेरो अधिकार र मेरो आत्मसम्मानको पक्षमा उभिएकी हुँ।’

रञ्जिता श्रेष्ठ र रेशम चौधरीबीच यसअघि पनि राजनीतिक तथा व्यक्तिगत सम्बन्धलाई लिएर सार्वजनिक रूपमा मतभेद देखिँदै आएको छ। २०८० फागुनमा श्रेष्ठले पार्टीगत मतभेद भए पनि त्यसका कारण आफूहरूबीच सम्बन्धविच्छेद नहुने बताएकी थिइन्। पछिल्ला वर्षहरूमा दुवैबीचको राजनीतिक दूरीसम्बन्धी समाचारहरू पनि सार्वजनिक हुँदै आएका छन्।

श्रेष्ठले अहिले उल्लेख गरेको कानुनी प्रक्रियाको प्रकृति, दर्ता भएको मुद्दा वा लगाइएका कानुनी दाबीबारे भने आफ्नो सार्वजनिक वक्तव्यमा विस्तृत विवरण खुलाएकी छैनन्।

प्रतिक्रिया