हिमालयन बैंकविरुद्ध एनभिएको दोस्रो चरणको आन्दोलन असोजबाट, ‘क्षति भए बैंक नै जिम्मेवार’
काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले हिमालयन बैंकविरुद्धको आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको छ । बैंकसँग करिब चार सातादेखि जारी विवाद समाधानका लागि औपचारिक वार्ता हुन नसकेपछि एनभिएले असोजको पहिलो सातादेखि दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको हो ।
काठमाडौंको मध्य बानेश्वरस्थित सनराइज क्याफे (पुरानो म्याकडोल क्याफे)मा शुक्रबार आयोजित विशेष भेलाले गत भदौ १ गतेदेखि जारी आन्दोलनलाई थप प्रभावकारी बनाउँदै दोस्रो चरणको कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।

भेलालाई सम्बोधन गर्दै एनभिएका केन्द्रीय अध्यक्ष इन्जिनियर संजय कुमार महतोले १५ वटा बैंकमा समान शुल्क (फी) कार्यान्वयन भइसकेको र अब दुईवटा बैंकमा मात्र समस्या बाँकी रहेको बताए । हिमालयन बैंकले समयमै समस्या समाधानका लागि पहल नगरे आन्दोलन थप कडा बनाउने उनको चेतावनी थियो ।
अध्यक्ष महतोले दोस्रो चरणको आन्दोलनबाट बैंकमै आर्थिक तथा भौतिक क्षति हुन सक्ने संकेत गर्दै त्यस्तो अवस्था आए बैंक स्वयं जिम्मेवार हुने चेतावनी दिए ।
“समस्या समाधान गर्ने समय अझै छ । यदि बैंकले समाधानतर्फ पहल गरेन र दोस्रो चरणको आन्दोलनका क्रममा कुनै आर्थिक वा भौतिक क्षति भयो भने त्यसको जिम्मेवारी बैंक आफैंले लिनुपर्नेछ,” महतोले भने ।
उनले मूल्याङ्कनकर्ताको जायज मागलाई बेवास्ता गरेर बैंक अघि बढ्न खोजे त्यसको प्रत्यक्ष असर बैंककै कामकारबाहीमा पर्ने बताए ।

कार्यक्रममा एनभिएका निवर्तमान अध्यक्ष इन्जिनियर ऋषि कोइरालाले वर्तमान कार्यसमितिले अघि सारेका सम्पूर्ण गतिविधिप्रति आफ्नो पूर्ण साथ र समर्थन रहेको बताए । वर्तमान नेतृत्वले संस्थालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उनले एकताबद्ध भएर अघि बढ्न मूल्याङ्कनकर्तालाई आग्रह गरे ।

भेलामा महासचिव इन्जिनियर अशोक सिलवालले हालसम्म भएका गतिविधि तथा आन्दोलनको प्रगति विवरण प्रस्तुत गरेका थिए । आन्दोलन समितिका संयोजक इन्जिनियर मनिष कर्णले हिमालयन बैंकसहित अन्य बैंकसँग भएका पछिल्ला गतिविधि तथा वार्ताको अवस्थाबारे जानकारी गराए ।
त्यस्तै, सचिव इन्जिनियर रबिन्द्र अधिकारीले आफूहरूले नेतृत्व सम्हालेपछि अधिकांश बैंकसँगका समस्या आन्दोलनबिना नै वार्ता र संवादमार्फत समाधान भएको बताए । तर हिमालयन बैंक संवाद र वार्ताबाट अघि बढ्न इच्छुक नदेखिएकाले आन्दोलन लम्बिएको उनको भनाइ थियो ।
अधिकारीले हिमालयन बैंकमा मूल्याङ्कनको काम गरिरहेका तर शुक्रबारको विशेष भेलामा बिना जानकारी अनुपस्थित भएका मूल्याङ्कनकर्तालाई समेत सचेत गराए ।
उनले उचित कारण र प्रमाणबिना कार्यक्रममा अनुपस्थित हुने मूल्याङ्कनकर्ताले संस्थामा चित्तबुझ्दो कारणसहित निवेदन दिनुपर्ने बताए ।

“हिमालयन बैंकमा मूल्याङ्कन गर्ने तर उचित कारणबिना आजको कार्यक्रममा अनुपस्थित हुने मूल्याङ्कनकर्तालाई एनभिएले उच्च प्राथमिकताका साथ वाचलिस्टमा राखेको छ,” अधिकारीले भने ।
विशेष भेलामा ५० भन्दा बढी मूल्याङ्कनकर्ता इन्जिनियरहरूको सहभागिता रहेको एनभिएले जनाएको छ ।
एनभिएले लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा मूल्याङ्कनकर्ताले पाउने शुल्क, रिपोर्टिङ प्रणाली तथा अन्य व्यावसायिक विषयमा समान मापदण्ड कायम गर्नुपर्ने माग राख्दै आएको छ । अधिकांश बैंकसँग सहमति बने पनि हिमालयन बैंकसँगको विवाद भने अझै समाधान हुन सकेको छैन ।
अब असोजको पहिलो साताबाट सुरु हुने दोस्रो चरणको आन्दोलनले हिमालयन बैंकको धितो तथा मूल्याङ्कनसम्बन्धी काममा थप प्रभाव पार्ने देखिएको छ ।




