२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

हिमालयन बैंकविरुद्धको दोस्रो चरणको आन्दोलन घोषणा गर्न एनभिएले आज भेला गर्दै


September 11, 2026
332
Shares

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले हिमालयन बैंकविरुद्धको दोस्रो चरणको आन्दोलन घोषणा गर्न आज विशेष भेला बोलाएको छ । बैंकसँग औपचारिक वार्ता हुन नसकेपछि संस्थाले जारी आन्दोलनलाई थप सशक्त बनाउँदै दोस्रो चरणको आन्दोलन अघि बढाउने तयारी गरेको हो ।

बैंकसँग विगत तीन सातादेखि आन्दोलनमा रहेको एनभिएले हालसम्म हिमालयन बैंकसँग औपचारिक वार्ता हुन नसकेको जनाएको छ । अनौपचारिक रूपमा भएका संवादले समेत ठोस निष्कर्ष लिन नसकेपछि आन्दोलनलाई दोस्रो चरणमा लैजानुपर्ने अवस्था आएको सचिव इ।रबिन्द्र अधिकारीले बताए।

एनभिएको आह्वानअनुसार हिमालयन बैंकमा कार्यरत सम्पूर्ण मूल्यांकनकर्ता इन्जिनियरहरूको सहभागितामा आज दिउँसो २ः३० बजे काठमाडौंको मध्य बानेश्वरस्थित सनराइज क्याफे (पुरानो म्याकडोल क्याफे) मा विशेष भेला आयोजना हुँदैछ।

एशोसिएशनले हिमालयन बैंकका सम्पूर्ण मूल्यांकनकर्ता इन्जिनियरलाई च्याप्टर, प्रदेश वा केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ। साथै अन्य मूल्यांकनकर्ता इन्जिनियरहरूलाई समेत कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।

एशोसिएशनका अनुसार हिमालयन बैंकमा हाल ८८ जना मूल्यांकनकर्ता आबद्ध छन्, जसमध्ये काठमाडौं उपत्यकामा मात्रै २६ जना रहेका छन्।

यसैबीच, संस्थाले आफ्ना सम्पूर्ण च्याप्टर तथा प्रदेश कार्यालयहरूलाई पनि सोही समयमा भेला आयोजना गरी आन्दोलनका विषयमा छलफल गर्न निर्देशन दिएको छ। भेलाबाट प्राप्त निष्कर्ष अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउनसमेत आग्रह गरिएको छ।

बैंकसँग वार्ता र संवादबाट समस्या समाधानको प्रयास भए पनि त्यसले ठोस रूप लिन नसकेपछि दोस्रो चरणको आन्दोलनको तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया