२४ भदौ २०८३, बुधबार | September 9, 2026

गृहमन्त्रीलाई संजीब गुरुङको आग्रह : ‘राजनीतिक शक्ति प्रदर्शन होइन, विधिको शासन र सुशासन चाहियो’


September 9, 2026
913
Shares

काठमाडौं । सामाजिक अभियन्ता तथा युवा व्यवसायी संजीब गुरुङले गृहमन्त्रीसहित राज्यका सबै तहका जिम्मेवार पदाधिकारीलाई संयमित भएर काम गर्न आग्रह गरेका छन्। उनले अहिले देशलाई उत्तेजना, धम्की र त्रास नभई सुशासन, सुरक्षा, न्याय र राज्यप्रतिको भरोसा आवश्यक रहेको बताएका छन्।

गृहमन्त्रीसँग आफूले विनम्रतापूर्वक आग्रह गरेको उल्लेख गर्दै गुरुङले इतिहासबाट सिकेर विगतका गल्ती दोहोरिन नदिनुपर्ने बताएका छन्।

उनले एमाले नेतृत्वको सरकारले प्रत्येक गाविसलाई रु। ३ लाख उपलब्ध गराउँदै ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियान सुरु गरेको समय स्मरण गर्दै विकास निर्माणमा देखिएको तत्कालीन शैलीको उदाहरण प्रस्तुत गरेका छन्।

‘त्यतिबेला गाउँ–गाउँमा विकासका नाममा डोजर पुग्थे। बाटो निर्माणका लागि उपभोक्ता समिति बन्थे। मैले आफ्नै आँखाले बाटो समितिका अध्यक्ष डोजरको अगाडि–अगाडि हिँड्दै अपरेटरलाई निर्देशन दिएको देखेको छु,’ गुरुङले भनेका छन्।

उनका अनुसार राज्य सञ्चालन भने त्यस्तो प्रत्यक्ष हस्तक्षेप र व्यक्तिगत निर्देशनको शैलीबाट नभई संस्थागत प्रणाली, कानुन तथा स्पष्ट कमाण्ड–कन्ट्रोलबाट हुनुपर्छ।

गुरुङले अहिलेको समय राजनीतिक शक्ति प्रदर्शन गर्ने वा एकअर्कालाई राजनीति सिकाउने समय नभएको स्पष्ट पारेका छन्।

‘यो समय डर, धम्की र त्रास सिर्जना गर्ने समय झन् होइन,’ उनको भनाइ छ।

उनले गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक हुँदै प्रशासनको सम्पूर्ण तहसम्म जिम्मेवारी, अनुशासन, मर्यादा र स्पष्ट कमाण्ड–कन्ट्रोल स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार मन्त्रीसँग संस्थागत भरोसा, प्रहरी नेतृत्वमा जिम्मेवारीबोध र कर्मचारीतन्त्रमा कानुनप्रतिको सम्मान तथा उत्तरदायित्व कायम हुन सके मात्रै राज्यप्रति नागरिकको विश्वास बलियो बन्न सक्छ।

गुरुङले विगतमा देशले पटक–पटक हिंसा र अस्थिरताको परिणाम भोगिसकेको स्मरण गराउँदै त्यसबाट विध्वंस, जनधनको क्षति र राज्यप्रतिको अविश्वास मात्रै बढ्ने चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘राज्यको शक्ति नागरिकलाई त्रसित बनाउन होइन, नागरिकलाई सुरक्षित र आश्वस्त बनाउन प्रयोग होस्।’

गुरुङले देशलाई अहिले उत्तेजनाभन्दा संयम, धम्कीभन्दा संवाद र डरभन्दा भरोसा आवश्यक रहेको बताएका छन्।

उनको आग्रह छ—राजनीतिक हस्तक्षेपभन्दा विधिको शासन र सुशासनलाई प्राथमिकता दिइयोस्।

उनले आफ्नो आग्रह गृहमन्त्रीमा मात्र सीमित नभएको स्पष्ट पार्दै संघीय सरकारका मन्त्रीदेखि स्थानीय सरकारका सम्पूर्ण पदाधिकारीसम्म सबैलाई राज्य सञ्चालनमा संयम, उत्तरदायित्व र कानुनी मर्यादा कायम गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया