१० भदौ २०८३, बुधबार | August 26, 2026

भोटेकोशी बाढीबाट भएको क्षतिप्रति निसाद्धारा दुःख व्यक्त, दाबी प्रक्रिया छिटो र प्रभावकारी बनाउन आग्रह


August 26, 2026
0
Shares

काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा)का अध्यक्ष इ. ऋषि कोइरालाले भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट रसुवा लगायत आसपासका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

संघले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी, प्रभावितको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

भोटेकोशी बाढीबाट निजी तथा सार्वजनिक सम्पत्ति, भवन, उद्योग–व्यवसाय, सवारीसाधन, निर्माणाधीन तथा जलविद्युत आयोजना, मेसिनरी र उपकरणलगायत ठूलो परिमाणमा बीमित सम्पत्तिमा क्षति पुगेको हुनसक्ने संघले जनाएको छ।

संघले प्रभावित बीमित व्यक्ति तथा संस्थाहरूलाई आफ्नो बीमा कम्पनीमा यथाशीघ्र दाबी सूचना दिन आग्रह गरेको छ। क्षतिग्रस्त सम्पत्तिलाई सम्भव भएसम्म सुरक्षित राख्दै क्षतिको प्रमाणका रूपमा आवश्यक फोटो, भिडियो, बिल, कागजात तथा अन्य प्रमाणहरू सुरक्षित राख्न पनि अनुरोध गरिएको छ।

त्यस्तै, बाढीजन्य क्षतिबाट प्राप्त हुने दाबीहरूको दर्ता, सर्भेयर नियुक्ति र दाबी फर्छ्यौट प्रक्रिया सरल, छिटो, पारदर्शी र प्रभावकारी बनाउन सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरूलाई संघले विशेष आग्रह गरेको छ।

नेपाल बीमा सर्भेयर संघले आफ्ना सदस्य सर्भेयरहरूलाई प्रभावित क्षेत्रमा प्राप्त हुने सर्भे कार्यलाई उच्च प्राथमिकतामा राख्दै निष्पक्ष, व्यावसायिक र शीघ्र रूपमा क्षति मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्न निर्देशनात्मक आग्रह गरेको छ।

आवश्यक अवस्थामा प्रभावित क्षेत्रमा बीमा दाबी तथा क्षति मूल्याङ्कन कार्यलाई सहज बनाउन सम्बन्धित निकाय र बीमा कम्पनीहरूसँग समन्वय तथा सहकार्य गर्न संघ तयार रहेको अध्यक्ष कोइरालाले बताएका छन्।

संघले विपद्को कठिन घडीमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान तथा धन्यवाद व्यक्त गर्दै बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।

प्रतिक्रिया