९ भदौ २०८३, मंगलबार | August 25, 2026

हिमालयन बैंकका कर्मचारीलाई आन्दोलनमा सहयोग गर्न एनभिएको आह्वान


August 25, 2026
0
Shares

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले आफूहरूले सञ्चालन गरिरहेको आन्दोलन हिमालयन बैंकका कर्मचारीविरुद्ध नभई विशुद्ध रूपमा हिमालयन बैंकसँग सम्बन्धित व्यावसायिक तथा पेसागत विषयमा केन्द्रित रहेको स्पष्ट पारेको छ।

एनभिएले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलन मूल्याङ्कनकर्ताको पेसागत हक, अधिकार, सम्मान र व्यावसायिक स्वतन्त्रताको संरक्षणका लागि गरिएको जनाएको हो। संस्थाले आन्दोलनमा सबै मूल्याङ्कनकर्ता इन्जिनियर तथा हिमालयन बैंकका कर्मचारीको सहयोग, समझदारी र ऐक्यबद्धताको अपेक्षा गरेको छ ।

एनभिएले हिमालयन बैंकमा कार्यरत कर्मचारीहरूलाई आन्दोलनको अवधिमा कुनै पनि मूल्याङ्कनकर्ता इन्जिनियरलाई मूल्याङ्कनसम्बन्धी काम गर्न अनावश्यक दबाब नदिन आग्रह गरेको छ। बैंकका कर्मचारीहरूलाई मूल्याङ्कनकर्ताको पेसागत हकहित र व्यावसायिक संघर्षमा सहयोग गर्न पनि संस्थाले अनुरोध गरेको छ।

त्यस्तै, आन्दोलनको अवधिमा कुनै मूल्याङ्कनकर्ता इन्जिनियरलाई काम गर्न दबाब दिइएको वा हस्तक्षेप भएको पाइएमा एनभिएले आवश्यक कडा संस्थागत कदम चाल्ने चेतावनी दिएको छ। आन्दोलनको उद्देश्यविपरीत काम गरी अभियानलाई कमजोर बनाउने प्रयास गर्ने मूल्याङ्कनकर्तामाथि समेत कडा कारबाही गरिने एनभिएले जनाएको छ।

एनभिएले आफ्ना सदस्यहरूलाई हिमालयन बैंकसँग सम्बन्धित सम्पूर्ण मूल्याङ्कन कार्य यथास्थितिमा रोक्न निर्देशन दिएको छ। जसअनुसार नयाँ साइट नहेर्ने, हेरिसकेको कामको प्रारम्भिक रिपोर्ट नदिने, अन्तिम रिपोर्ट नदिने तथा बैंकसँग सम्बन्धित अन्य मूल्याङ्कनसम्बन्धी कामसमेत नगर्न आग्रह गरिएको छ।

एनभिए अध्यक्ष इ. संजय कुमार महतोले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र प्रभावकारी रूपमा अघि बढाउन सबैको पूर्ण ऐक्यबद्धताको अपेक्षा गरिएको छ।

हिमालयन बैंक आन्दोलन कमिटी गठन

एनभिएले हिमालयन बैंकसम्बन्धी आन्दोलनलाई थप व्यवस्थित बनाउन ‘हिमालयन बैंक लिमिटेड आन्दोलन कमिटी–२०८३’ समेत गठन गरेको छ।

समितिको संरक्षकमा एनभिए अध्यक्ष इ. संजय कुमार महतो, संयोजकमा ई. मनिष कर्ण र सह–संयोजकमा ई. प्रज्ञान घिमिरे रहेका छन्।

समितिका सदस्यहरूमा विकास वाग्ले, दिनेश कुमार पाठक, यमलाल पाण्डे, अशोक सिलवाल, रविन्द्र अधिकारी, सन्देश श्रेष्ठ, श्रीबोध ज्ञवाली, उपेन्द्र लुइटेल, हृदय खड्का, सरोज श्रेष्ठ, रोशनराज देवकोटा, सचिन बराल, मुन्ना कुमार सराफ, राजेश भट्टराई, गोविन्द पंगेनी, हरिकेसी, विपिन बिष्ट, सुमन तिम्सिना, अरुण यादव, गणेश कंडेल, अमित खनाल, खगेन्द्र अवस्थी, सगुन श्रेष्ठ, संजय चन्द्र न्यौपाने, लबिन ध्वज खाँड, अनिल बानियाँ, राजेश चौरसिया, गौरव सराफ, नागेश्वर लाल कर्ण, पवन महासेठ र कुन्दन शर्मा रहेका छन्।

एनभिएले “एकता नै हाम्रो शक्ति हो” भन्ने नारासहित हिमालयन बैंकमा काम गर्ने, नगर्ने सम्पूर्ण इन्जिनियरहरूलाई आन्दोलनमा ऐक्यबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।

एशोसिएशनका सचिव इ. रविन्द्र अधिकारीका अनुसार आन्दोलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश समितिहरू तथा विभिन्न च्याप्टरहरूले आवश्यकताअनुसार आन्दोलन उपसमितिहरू गठन गर्न सक्ने निर्णय समेत गरिएको छ।

उनका अनुसार एनभिएले पहिलो चरणको आन्दोलन सम्पन्न गरेसँगै अब केही दिनभित्रै आन्दोलनका थप दोस्रो चरणका कार्यक्रमको घोषणा गर्ने तयारी गरिरहेको छ। बैंकसँगको व्यावसायिक तथा पेसागत विषयमा ठोस समाधान नआए आन्दोलनलाई थप सशक्त र चरणबद्ध रूपमा अघि बढाउने तयारी एशोसिएशनको रहेको अधिकारीले बताए।

एनभिएले देशभरका मूल्याङ्कनकर्ता इन्जिनियरलाई एकताबद्ध गर्दै आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र प्रभावकारी बनाउने रणनीति अघि सारेको छ।

 

 

प्रतिक्रिया