९ भदौ २०८३, मंगलबार | August 25, 2026

बजार, मूल्याङ्कन र नीतिबारे बुटवलमा भ्यालुयर्स, बैंकर र व्यवसायीबीच गहन अन्तरक्रिया


August 25, 2026
0
Shares

बुटवल, ९ भदौ । नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए), लुम्बिनी प्रदेशको आयोजनामा बजार, सम्पत्ति मूल्याङ्कन तथा समसामयिक नीतिनियमसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम बुटवलस्थित होटल हायातमा सम्पन्न भएको छ।

समसामयिक सन्दर्भमा बजार, मूल्याङ्कन बजार र नीति “ISSUES ON PRESENT CONTEXT” Market, valuation Market Policy” विषयक अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायी, बैंकर, मूल्याङ्कनकर्ता तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिबीच समसामयिक बजार अवस्था, सम्पत्ति मूल्याङ्कनका चुनौती, बैंकिङ क्षेत्रका समस्या तथा नीतिगत विषयमा गहन छलफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा छलफलकर्ता नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका कायममुकायम निर्देशक जीवनप्रकाश पाण्डेले मूल्याङ्कन पेशालाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन आवश्यक ऐन, नीति तथा नियम निर्माण गरी पेशालाई संस्थागत रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिए।

एनभिएका अध्यक्ष इ. सञ्जयकुमार महतोले मूल्याङ्कनकर्ताहरू थप अनुशासित, जिम्मेवार र मर्यादित भएर पेशागत आचरण कायम गर्नुपर्ने बताए। उनले ऋण लगानीका क्रममा कुनै त्रुटि वा समस्या उत्पन्न भएमा त्यसको सम्पूर्ण दोष मूल्याङ्कनकर्तामाथि मात्र थोपर्न नहुने धारणा राख्दै मूल्याङ्कनकर्ता र बैंकर दुवैलाई समान कानुनी मापदण्ड र व्यवहार लागू हुनुपर्ने बताए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य यज्ञप्रसाद भट्टराई, नेपाल बैंकर्स संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कुशकुमार सिंह, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, लुम्बिनी प्रदेशका अध्यक्ष लेखनाथ भट्टराई र मूल्याङ्कनकर्ताका तर्फबाट इ. सुशिलकुमार अमात्य सहभागी भई छलफलकर्ताको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सहजीकरण एनभिए लुम्बिनी प्रदेशका सचिवका सचिव इ. अमित खनालले गरेका थिए।

 

कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुख, उद्योगी–व्यवसायी, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि, मूल्याङ्कनकर्ता तथा एनभिएका पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले बजारको वर्तमान अवस्था, सम्पत्ति मूल्याङ्कनको अभ्यास, बैंकिङ क्षेत्रका समस्या तथा विद्यमान नीति–नियमका विषयमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता एनभिए लुम्बिनी प्रदेशका अध्यक्ष इ. गोविन्द पंगेनीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका कायममुकायम निर्देशक जीवनप्रकाश पाण्डे, विशिष्ट अतिथि एनभिएका अध्यक्ष इ. सञ्जयकुमार महतो तथा केन्द्रीय उपाध्यक्ष, सल्लाहकार, एनभिए लुम्बिनीका सल्लाहकार, नेपाल बैंकर्स संघ लुम्बिनीका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसन लुम्बिनीका अध्यक्ष र उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो।

एनभिए लुम्बिनी प्रदेशका उपाध्यक्ष इ. विवेक लामिछानेले स्वागत मन्तव्य दिएका थिए भने केन्द्रीय उपाध्यक्ष इ. यमलाल पाण्डेले कार्यक्रमको उद्देश्य र विषयवस्तुबारे प्रकाश पारेका थिए।

कार्यक्रमको अन्त्यमा एनभिए लुम्बिनी प्रदेशका अध्यक्ष इ. गोविन्द पंगेनीले सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद तथा समापन मन्तव्य दिएका थिए। कार्यक्रम एनभिए लुम्बिनी प्रदेशका सचिव इ. अमित खनालले सञ्चालन गरेका थिए।

समसामयिक बजार, मूल्याङ्कन र नीतिनियमका विषयमा सरोकारवाला पक्षहरूलाई एउटै मञ्चमा ल्याएर गरिएको यस अन्तरक्रियाले मूल्याङ्कन पेशालाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन आवश्यक नीतिगत सुधारका विषयमा साझा धारणा निर्माण गर्न महत्वपूर्ण योगदान दिएको आयोजकको भनाइ छ।

 

प्रतिक्रिया