एनभिए गण्डकीमा नयाँ नेतृत्व : अध्यक्षमा इ. राजेश भट्टराई सर्वसम्मत
पोखरा । नेपाल भ्यालुअर्स एसोसिएसन (एनभिए) गण्डकी प्रदेश समितिको छैठौँ अधिवेशनले इ. राजेश भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनको उद्घाटन सत्रमा एनभिएका केन्द्रीय अध्यक्ष इ. सञ्जय कुमार महतो प्रमुख अतिथि तथा उपाध्यक्ष इ. दिनेश कुमार पाठक विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रम गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र बहादुर गोदारको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष महतोले देशभरका मूल्याङ्कनकर्ताबीच एउटै मूल्याङ्कन शुल्क र एकरूप प्रतिवेदन ढाँचा कायम गर्ने दिशामा एनभिए अघि बढिरहेको जानकारी दिए । उनले हिमालयन बैंकसँगको छलफल तथा सहकार्यमा सम्पूर्ण भ्यालुअर्सले ऐक्यबद्धता जनाएकै कारण समस्या समाधानतर्फ उन्मुख भएको बताए। बाँकी रहेका अन्य बैंकसँग पनि छिट्टै निष्कर्षमा पुग्ने उनको भनाइ थियो।
उपाध्यक्ष इ. दिनेश कुमार पाठकले मूल्याङ्कनकर्ताहरूको हकहित र पेशागत मर्यादाका लागि एनभिए प्रतिबद्ध रहेको बताए। उनले संस्थाले तोकेको शुल्कभन्दा फरक शुल्कमा काम नगर्न मूल्याङ्कनकर्ताहरूलाई आग्रह गर्दै निर्देशन उल्लङ्घन भए आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सकिने चेतावनी दिए।
त्यसैगरी, निवर्तमान अध्यक्ष सुरेन्द्र बहादुर गोदारले नयाँ कार्यसमितिलाई आफ्नो कार्यकालभन्दा अझ प्रभावकारी ढङ्गले काम गर्दै संस्थालाई थप उचाइमा पुर्याउन शुभकामना दिए। उनले केन्द्रको निर्देशन र संस्थागत नीतिअनुसार अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरे।
नवनिर्वाचित अध्यक्ष इ. राजेश भट्टराईले गण्डकी प्रदेश समितिले विगतमा हासिल गरेको गति र उपलब्धिलाई निरन्तरता दिँदै अझ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले पूर्वअध्यक्ष सुरेन्द्र गोदारलगायत पूर्वअध्यक्ष तथा वरिष्ठ इन्जिनियरहरूको सल्लाह र सुझावलाई साथमा लिएर अघि बढ्ने बताए। साथै, केन्द्रको निर्देशन र संस्थागत निर्णयलाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाए।
यस्तो बन्यो एनभिए गण्डकीको नयाँ टिम
अधिवेशनबाट अध्यक्षमा इ. राजेश भट्टराई, उपाध्यक्षमा इ. हरि प्रसाद अधिकारी र इ. आनन्द प्रसाद सापकोटा, सचिवमा इ. गणेश कँडेल, सहसचिवमा इ. अनिश कुमार ढकाल तथा कोषाध्यक्षमा इ. सन्तोष ओझा सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा इ. मनोज बराल, इ. सुदिप दवाडी, इ. सुमन पाण्डे, इ. नवराज शर्मा, इ. किरणराज सिग्देल र इ. कृष्ण रिजाल चयन भएका छन्।
नयाँ नेतृत्वले मूल्याङ्कनकर्ताहरूको पेशागत हकहित, एकरूप शुल्क प्रणाली, प्रतिवेदनको मानकीकरण तथा बैंक तथा वित्तीय संस्थासँग देखिएका समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।



