केन्द्रमा जे भए पनि क्षेत्रमा कांग्रेस मिल्नुपर्छ : जयकृष्ण महर्जन
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जनले केन्द्रमा पार्टीभित्र जस्तोसुकै मतभेद भए पनि क्षेत्रीय तहमा कांग्रेस एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार स्युचारटारस्थित परिकार पार्टी प्यालेसमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं। ९ द्वारा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै सभापति महर्जनले कांग्रेसभित्रको एकता अहिलेको प्रमुख आवश्यकता भएको बताए।
उनले भने, ‘केन्द्रमा जे–जस्तो भए पनि क्षेत्रमा हामी मिल्नुपर्छ। कांग्रेसी एकजुट हुनुको विकल्प छैन।’
पार्टीभित्र केही महिनादेखि देखिएको चरम विवादका कारण आफूहरूलाई कार्यक्रम गर्नसमेत उत्साह नलागेको बताउँदै महर्जनले पछिल्लो समय भने पार्टी विभाजनको सम्भावना टर्दै गएको र आशा जागेको उल्लेख गरे।
‘पार्टी फुटाएर कसैलाई पनि फाइदा हुँदैन। कांग्रेसका कार्यकर्ताहरूलाई फुटाउने हाम्रो इच्छा पनि छैन,’ उनले भने।
महर्जनले पार्टी विभाजन गर्ने वा रोक्ने विषय कार्यकर्ताको हातमा नरहेको समेत स्पष्ट पारे। पार्टीलाई कमजोर बनाउनेभन्दा एकताबद्ध बनाएर अघि बढाउनु नै सबैको हितमा रहेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं। ९ का पदाधिकारीसहित सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। भेटघाट तथा चियापान कार्यक्रममार्फत स्थानीय तहमा पार्टीका नेता–कार्यकर्ताबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ।



