२३ श्रावण २०८३, शनिबार | August 8, 2026

झ्याप्प–झ्याप्प बत्ती जाने समस्या किन बढ्यो ?


415
Shares

काठमाडौं । नेपालमा औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको वर्षौं बितिसकेको छ । तर, पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा विनासूचना पटक–पटक विद्युत् जाने र केही सेकेन्ड वा मिनेटमै फर्किने क्रम बढेको छ ।

बत्ती जाने समय लामो नहुने भए पनि बारम्बारको यस्तो समस्याले उपभोक्तालाई भने पुरानै लोडसेडिङको झल्को दिन थालेको छ ।

झ्याप्प बत्ती जाने र तुरुन्तै आउने समस्याले घरायसी कामदेखि कार्यालय, उद्योग, अस्पताल, इन्टरनेट सेवा तथा अनलाइन व्यवसायसम्म प्रभावित भइरहेका छन् । विशेषगरी कम्प्युटरमा काम गर्ने, अनलाइन कक्षा सञ्चालन गर्ने र डिजिटल कारोबारमा निर्भर व्यवसायीका लागि पटक–पटक विद्युत् अवरुद्ध हुनु थप चुनौती बनेको छ ।

घट्यो ट्रिपिङ, तर समस्या किन महसुस भइरहेको छ ?

नेपाल विद्युत् प्राधिकरणको रेकर्डअनुसार आर्थिक वर्ष २०८२र८३ मा राष्ट्रिय प्रसारण प्रणाली ४२ पटक ट्रिप भएको थियो । ती घटनाका कारण कुल ५ घण्टा ५ मिनेट विद्युत् प्रणाली प्रभावित भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा भने ७१ पटक ट्रिपिङ हुँदा ८ घण्टा ११ मिनेट प्रणाली प्रभावित भएको थियो ।

अर्थात् तथ्यांकमा हेर्दा ट्रिपिङको संख्या र अवधि दुवै घटेका छन् । तर, उपभोक्ताले भने पछिल्लो समय बारम्बार झ्याप्प बत्ती जाने समस्या बढेको अनुभव गरिरहेका छन् ।

यसको अर्थ राष्ट्रिय प्रसारण प्रणालीमा हुने ठूला ट्रिपिङभन्दा स्थानीय वितरण प्रणालीमा देखिने समस्या उपभोक्ताको दैनिक जीवनमा बढी प्रत्यक्ष असर पारिरहेको हुन सक्छ ।

रुखदेखि ट्रान्सफर्मरसम्म, के–के हुन् कारण ?

प्राधिकरणको विश्लेषणअनुसार विद्युत् प्रणाली ट्रिप हुनुका पछाडि विभिन्न प्राविधिक तथा प्राकृतिक कारण छन् ।

रुख ढल्नु, हावाहुरी तथा वर्षाका कारण लाइनमा अर्थफल्ट हुनु, जम्पर चुँडिनु, ट्रान्सफर्मर तथा सबस्टेसनका उपकरणमा खराबी आउनु र सुरक्षा प्रणाली सक्रिय हुनु प्रमुख कारण देखिएका छन् ।

कतिपय अवस्थामा एउटा प्रसारण लाइनमा आएको खराबी क्रमशः अन्य प्रसारण लाइन, सबस्टेसन तथा जलविद्युत् आयोजनासम्म फैलिँदा आंशिक रूपमा विद्युत् प्रणाली नै प्रभावित हुने अवस्थासमेत आउने गरेको प्राधिकरणको भनाइ छ ।

‘लोडसेडिङ छैन’ तर बत्ती किन जान्छ ?

नेपालले लोडसेडिङको युग पार गरिसकेको भए पनि विद्युत् आपूर्ति निरन्तर र भरपर्दो बनाउनु अझै चुनौतीपूर्ण देखिएको छ ।

उपभोक्ताको अपेक्षा अहिले केवल ‘बत्ती आउनु’ होइन, ‘नबिग्रिई निरन्तर आउनु’ हो ।

केही सेकेन्डका लागि जाने बत्तीले पनि कम्प्युटर बन्द गराउन सक्छ, अनलाइन कारोबार रोक्न सक्छ, इन्टरनेट सेवा अवरुद्ध पार्न सक्छ र उद्योगको उत्पादन प्रक्रियासमेत प्रभावित गर्न सक्छ ।

त्यसैले प्रश्न अब लोडसेडिङ फर्कियो कि फर्किएन भन्ने होइन ।

प्रश्न हो—लोडसेडिङ अन्त्य गरेको नेपालले विद्युत्को भरपर्दो आपूर्ति कहिले सुनिश्चित गर्छ ?

उपभोक्ताले अँध्यारोमा बस्न नपरे पनि झ्याप्प–झ्याप्प बत्ती जाने समस्याबाट कहिले मुक्ति पाउने ?

प्रतिक्रिया