CAR बीमा दाबी व्यवस्थापनमा सर्भेयरको क्षमता अभिवृद्धिका लागि निसाको विशेष तालिम सम्पन्न
विश्वासिलो प्रतिवेदन, दक्ष जनशक्ति र प्राविधिक क्षमता अभिवृद्धिमा जोड, ‘र्यापिड टेक्निकल फोर्स’ गठन गर्ने योजना
काठमाडौं, १८ साउन । नेपाल बीमा सर्भेयर संघ (निसा) ले निर्माण बीमा (Construction All Risk–CAR) अन्तर्गतका दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन’Handling CAR Insurance Claims: From Site Inspection to Report Writing’ विषयक एकदिने विशेष तालिम सम्पन्न गरेको छ। तालिममा बीमा सर्भेयर, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्टसहित ४५ जनाको सहभागिता रहेको थियो।
होटल साङ्ग्रिला ब्लु, ललितपुरमा आयोजित तालिममा स्थलगत निरीक्षणदेखि क्षतिको मूल्याङ्कन, आवश्यक कागजात व्यवस्थापन र व्यावसायिक प्रतिवेदन लेखनसम्मका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। तालिमका मुख्य प्रशिक्षक वरिष्ठ बीमा सर्भेयर तथा सिभिल इन्जिनियर इ. जगन्नाथ गौतम रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बहादुर बैदवार क्षेत्रीले बीमा कम्पनी, सर्भेयर र नियामक निकायबीच प्रभावकारी समन्वय भए मात्रै बीमाप्रति जनविश्वास बलियो बन्ने बताए। उनले वास्तविक क्षतिमा बीमितले सहज, छिटो र उचित क्षतिपूर्ति पाउने वातावरण निर्माण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै निसाले सञ्चालन गर्ने तालिम तथा क्षमता विकास कार्यक्रमहरूमा बिमक संघको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

निसाका अध्यक्ष इ. ऋषि कोइरालाले जटिल बीमा दाबीको प्राविधिक समस्या समाधान गर्न विशेषज्ञसहितको ‘र्यापिड टेक्निकल फोर्स’ गठन गर्ने तयारी भइरहेको जानकारी दिए। मोटर, इन्जिनियरिङलगायत विभिन्न विधाका विज्ञ टोलीमार्फत जटिल दाबीमा तत्काल प्राविधिक परामर्श उपलब्ध गराउने योजना रहेको उनको भनाइ थियो। उनले सर्भेयरहरूबीच अनुभव, ज्ञान र विशेषज्ञताको आदानप्रदानले पेशागत क्षमता थप मजबुत हुने बताए।

निसाका पूर्व अध्यक्ष मोहन पुरुष ढकालले सफल सर्भेयरका लागि प्राविधिक ज्ञानसँगै व्यावसायिक इमान्दारिता र विश्वसनीयता अपरिहार्य रहेको बताए। उनले सर्भेयरको व्यक्तित्व, व्यवहार, प्रमाण–कागजातको व्यवस्थापन र पारदर्शी प्रतिवेदनले नै पेशाप्रतिको विश्वास निर्माण गर्ने उल्लेख गर्दै क्षतिको अवस्थालाई स्पष्ट देखाउने गुणस्तरीय फोटोग्राफी र तथ्यमा आधारित प्रतिवेदनलाई प्राथमिकता दिन आग्रह गरे।

मुख्य प्रशिक्षक जगन्नाथ गौतमले तालिमको उद्देश्य सर्भेयरलाई मापदण्डअनुसार काम गर्न सक्षम बनाउनु र व्यावसायिक ज्ञान अभिवृद्धि गर्नु रहेको बताए। उनले यस्ता प्रशिक्षणले बजारमा कार्यरत सर्भेयरलाई आवश्यक मार्गदर्शन प्रदान गर्दै गुणस्तरीय सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

सालिको बीमाका डीजीएम सुभाष दीक्षितले तालिमप्रति सहभागीहरूले देखाएको उत्साहले भविष्यमा दक्ष र योग्य सर्भेयर उत्पादन हुने विश्वास व्यक्त गरे। उनले व्यावसायिक छनोट, निरन्तर सिकाइ र नियमित प्रशिक्षणमार्फत बीमा सर्भेक्षण सेवाको गुणस्तर थप उकासिने बताए।

निसाका महासचिव तथा तालिम संयोजक नविन भट्टले बीमा क्षेत्रमा द्रुत रूपमा परिवर्तन भइरहेका नीति, नियम र क्लेम प्रणालीसँग सर्भेयरलाई अद्यावधिक राख्न निरन्तर तालिम आवश्यक रहेको बताए। उनले सर्भेयरको प्राविधिक क्षमता, कार्यशैली र स्ट्यान्डर्डाइजेसनलाई सुदृढ बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।

तालिमको उद्घाटन तथा समापन समारोहमा निसाका अध्यक्ष ऋषि कोइराला, नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बहादुर बैदवार क्षेत्री, निसाका पूर्व अध्यक्ष मोहन पुरुष ढकाल, नेपाल इन्स्योरेन्स अथोरिटी (एनआईए) पुनर्बीमा विभागका उपनिर्देशक राम कोजु, सालिको बीमाका डीजीएम सुभाष दीक्षित तथा वरिष्ठ बीमा सर्भेयर इ। जगन्नाथ गौतमको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन निसाका महासचिव एवं तालिम संयोजक नविन भट्टले गरेका थिए। तालिम सम्पन्न गरेका सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।





