निर्माण व्यवसायी महासंघ कर्णालीको तेस्रो अधिवेशन सुरु, अध्यक्षमा बमको बलियो दाबी
सुर्खेत, १८ साउन । निर्माण व्यवसायी महासंघ, कर्णाली प्रदेशको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले कर्णालीभरका निर्माण व्यवसायीहरूको विशेष चासोको विषय बनेको छ।
अधिवेशनमा प्रदेशभरका प्रतिनिधि, निर्माण व्यवसायी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ। यस अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ।
यसैबीच महासंघको अध्यक्ष पदका लागि पूर्व कर्णाली प्रदेश महासचिव, बसना निर्माण सेवाका निर्देशक तथा रास्कोट नगरपालिका निवासी मानव बमले आफ्नो बलियो दाबी प्रस्तुत गरेका छन्। लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय रहँदै आएका बम संगठनभित्र अनुभवी, समन्वयकारी र व्यवसायीहरूको साझा आवाजका रूपमा परिचित छन्।
मानव बमले निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, पारदर्शी र उत्तरदायी नेतृत्व, संस्थागत सुदृढीकरण तथा कर्णालीका निर्माण व्यवसायीहरूको साझा समस्याको समाधानलाई आफ्नो नेतृत्वको मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले कर्णाली प्रदेशका सबै जिल्लाका निर्माण व्यवसायीहरूलाई एउटै सूत्रमा बाँध्दै महासंघलाई अझ सशक्त, प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। साथै सार्वजनिक खरिद प्रक्रिया, भुक्तानी व्यवस्थापन, नीतिगत सुधार तथा व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्याको समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने योजना पनि अघि सारेका छन्।
अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका आकांक्षीहरूबीच चुनावी गतिविधि तीव्र बन्दै गएको छ। त्यसक्रममा मानव बमको उम्मेदवारीलाई निर्माण व्यवसायीहरूबीच अर्थपूर्ण र प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी दिनमा कर्णाली प्रदेशका निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, संस्थागत विकास र व्यवसायिक वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


