१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रवेश परीक्षा दिन पुगेका युवकले विश्वविद्यालयको छतबाट हाम फाले, उपचारकै क्रममा मृत्यु


1.6k
Shares

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रवेश परीक्षा दिन पुगेका एक युवकले शनिबार बिहान भवनको छतबाट हाम फाल्दा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार शनिबार बिहान करिब ९:३० बजे महेन्द्रनगरस्थित विश्वविद्यालयको तीनतले भवनको छतबाट उनले हाम फालेका थिए।

घटनापछि उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो। तर उपचारकै क्रममा दिउँसो करिब १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्की बीएचएम (Bachelor of Hotel Management) को प्रवेश परीक्षा दिन विश्वविद्यालय पुगेका थिए। प्रारम्भिक अनुसन्धानमा उनी मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित रहेको र औषधि सेवन गरिरहेको परिवारले जानकारी दिएको छ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया