११ श्रावण २०८३, सोमबार | July 27, 2026

सचिवालयमा आफ्नै मान्छे थुपारेर देश चल्दैन : बालेन सरकारलाई रायमाझीको सुझाव


166
Shares

काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सुरुवाती कामप्रति सकारात्मक टिप्पणी गर्दै पछिल्लो समय सचिवालयको बढ्दो हस्तक्षेपले सरकारको कार्यशैली कमजोर बनेको बताएका छन्।

उनले सुरुवाती चरणमा बालेन सरकारले तीव्र गतिमा राम्रो काम गर्न खोजेको भए पनि सचिवालयका केही व्यक्तिको गतिविधि र कमजोरीका कारण पुराना राजनीतिक दलहरूले त्यसको फाइदा उठाउन थालेको दाबी गरे।

रायमाझीले सचिवालयका केही सदस्यको शैली उग्र वा अराजक देखिए पनि उनीहरूको उद्देश्यबारे आफूलाई स्पष्ट जानकारी नभएको उल्लेख गर्दै अहिले कांग्रेस, एमाले तथा माओवादी केन्द्रलगायतका पुराना राजनीतिक शक्तिहरूले चौतर्फी दबाब र आक्रमण गरिरहेको टिप्पणी गरे।

उनले बालेन सरकारलाई राज्य संयन्त्रप्रति विश्वास गर्न आग्रह गर्दै, ‘सरकार भनेपछि सबैको अभिभावक हुनुपर्छ। हिजो कुन दलले नियुक्ति गर्‍यो भन्ने आधारमा कर्मचारी छुट्याउने होइन, योग्य र इमानदार कर्मचारीलाई विश्वास गरेर काम लिनुपर्छ’ भने।

रायमाझीले निजामती कर्मचारीको दरबन्दी नथप्ने, लोकसेवा आयोगमार्फत नयाँ कर्मचारी भर्ना रोक्ने जस्ता नीतिको आलोचना गर्दै अर्कोतर्फ प्रत्येक मन्त्रालयमा २०–२५ जना सचिवालयका व्यक्ति राख्ने प्रवृत्तिले प्रशासन अस्तव्यस्त बन्ने चेतावनी दिए।

उनका अनुसार सरकार सञ्चालनका लागि छुट्टै अनौपचारिक सूचना संयन्त्र खडा गर्नु आवश्यक नभई राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाल प्रहरीका वैधानिक गुप्तचर संयन्त्रमार्फत आवश्यक सूचना प्राप्त गर्न सकिने व्यवस्था पहिले नै रहेको छ।

उनले आफ्ना निकटस्थ व्यक्तिलाई नियुक्त गरेर राजनीतिक गतिविधि निगरानी गराउने प्रयासलाई ”महामूर्ख काम”को संज्ञा दिँदै प्रधानमन्त्री वा सरकार प्रमुखले राज्यका वैधानिक संयन्त्र प्रयोग गरेर शासन सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

रायमाझीले अन्त्यमा सुशासनका लागि प्रशासनको इमानदारी, पारदर्शिता, जनताप्रतिको जवाफदेहिता तथा कार्यसम्पादनको निष्पक्ष मूल्याङ्कन गर्ने क्षमता नै सबैभन्दा महत्वपूर्ण हुने बताए।

प्रतिक्रिया