६ श्रावण २०८३, बुधबार | July 22, 2026

स्टाटसबाट होइन, विधिबाट कर हटाऊ :प्रदीप पौडेल


166
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको अतिरिक्त कर हटाउने प्रधानमन्त्रीको सामाजिक सञ्जालमार्फत गरिएको घोषणा सकारात्मक भए पनि विधि र प्रक्रियालाई बेवास्ता गरेर गरिएको निर्णय स्वीकार्य नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले शिक्षा र स्वास्थ्यमा लगाइएको थप कर हटाउने घोषणाले नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। तर जनस्तरबाट विरोध भएपछि मात्र सरकार आफ्ना कमजोरी छोप्नतर्फ लागेको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर शासन चलाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

उनले करको दर परिवर्तन वा हटाउने विषय मन्त्रिपरिषद्को निर्णयमार्फत कार्यान्वयन गर्ने अभ्यास विगतमा पनि रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यसँगै ९९ प्रतिशत नागरिकले उपभोग गर्ने विद्युत् महसुलमा लगाइएको अतिरिक्त कर पनि तत्काल क्याबिनेट निर्णयमार्फत हटाउन सरकारसँग माग गरेका छन्।

महामन्त्री पौडेलले विधि र संस्थाभन्दा व्यक्ति हावी हुने प्रवृत्तिले विगतमा मुलुकलाई गम्भीर संकटतर्फ धकेलेको स्मरण गराउँदै अहिले पनि कानुनी प्रक्रिया मिचेर गरिने निर्णयले सरकारको नियतमाथि शंका उत्पन्न गरिरहेको बताएका छन्।

उनले सरकारलाई स्पष्ट सन्देश दिँदै भनेका छन्, ‘थप गरिएका कर हटाइयोस्, तर विधि नमिचियोस्। स्टाटसले होइन, कानुनी प्रक्रियाले मात्रै देशको अर्थतन्त्रलाई सही दिशा दिन सक्छ। लोकतान्त्रिक व्यवस्था र संस्थागत अभ्यासलाई सामाजिक सञ्जालको भित्तामा सीमित गर्ने छुट कसैलाई छैन।’

पौडेलको भनाइ सार्वजनिक भएपछि कर हटाउने प्रधानमन्त्रीको घोषणालाई कानुनी रूपमा कसरी कार्यान्वयन गरिन्छ भन्ने विषय फेरि राजनीतिक बहसको केन्द्रमा पुगेको छ।

प्रतिक्रिया