बिरामी र विद्यार्थीलाई कर लगाउने यो सरकार ज्यानमारा हो: कुन्दनराज काफ्ले
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले सरकारको कर नीति, शिक्षा, स्वास्थ्य र महँगी नियन्त्रणमा देखिएको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्ने चर्चा गरे पनि आम नागरिकको दैनिक जीवन सहज बनाउनेतर्फ ध्यान नदिएको आरोप लगाएका छन्।
काफ्लेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारका पछिल्ला निर्णयहरूले जनतामा उत्साह र विश्वासभन्दा निराशा बढाएको बताएका हुन्। उनका अनुसार निःशुल्क शिक्षाको नारा दिइए पनि अभिभावकहरू निजी विद्यालयमा चर्को शुल्क तिर्न बाध्य छन्, त्यसमाथि थप प्रत्यक्ष करको भार थोपारिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ पनि उनले सरकारमाथि प्रश्न उठाएका छन्। निःशुल्क स्वास्थ्य सेवाको प्रतिबद्धता दोहोर्याइए पनि बिरामीहरू महँगो उपचार गर्न बाध्य भएको र थप शुल्क असुल्ने प्रवृत्तिले जनसेवा नै पीडादायी बनेको उनको टिप्पणी छ।
त्यस्तै, विद्युत् महसुलमा थप कर लगाइएकाले निम्न आय भएका नागरिकसमेत प्रत्यक्ष प्रभावित भएको काफ्लेको भनाइ छ। यसले भान्सादेखि दैनिक उपभोगका वस्तुसम्मको मूल्य बढाएर महँगी असह्य बनाएको उनले उल्लेख गरेका छन्।
सरकारका यस्ता जनविरोधी नीतिले जनतामा निराशा झन् गहिरिँदै गएको दाबी गर्दै काफ्लेले अन्त्यमा व्यंग्यात्मक प्रश्न गरेका छन्, ‘ब्रेक नै नलाग्ने भनिएको सरकारी एक्सप्रेस गाडी आखिर कसरी नियन्त्रणमा रहला ?’


