इन्जिनियर्स दिवसमा एनभिएको विशेष सेसन भोलि, मूल्याङ्कन क्षेत्रका नीति र चुनौतीबारे उच्चस्तरीय बहस हुने
काठमाडौं । ६४औँ इन्जिनियर्स दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले आइतबार आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) को प्राविधिक सेसन मुख्य आकर्षणका रूपमा रहने भएको छ।
राजधानीको ग्वार्कोस्थित रोयल टुलिप होटलमा हुने कार्यक्रममा एनभिएले ‘Valuation Governance in Nepal: Issues, Challenges, and Policy Recommendations’ विषयमा उच्चस्तरीय प्यानल छलफल आयोजना गर्दैछ। कार्यक्रमको उक्त विशेष टेक्निकल सेसन दिउँसो १२ः१५ बजे सुरु हुनेछ।
मूल्याङ्कन क्षेत्रको वर्तमान अवस्था, कानुनी तथा नीतिगत चुनौती, सुशासन, बैंकिङ प्रणालीसँगको सम्बन्ध तथा भविष्यका नीति सुधारका विषयमा केन्द्रित रहने यस छलफलमा केन्द्रीय बैंक, सरकारी निकाय, वित्तीय क्षेत्र र पेशागत संस्थाका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहनेछ।
सेसनमा नेपाल भ्यालुयर्स एशोसिएशनका उपाध्यक्ष इ. दिनेशकुमार पाठकले विषय प्रस्तुति गर्नेछन्। प्यानेलिस्टका रूपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, CEO, N.R.N. Nepal Development Fund Ltd. (NDF)/Economic Experts अनलराज भट्टराई, Joint Secretary, Ministry of Land Management, Cooperatives, Federal Affairs and General Administration गणेशप्रसाद भट्ट, नेपाल बैंकर्स एशोसिएशनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा तथा नेपाल भ्यालुयर्स एशोसिएशनका अध्यक्ष इ. संजयकुमार महतो सहभागी हुनेछन्।
छलफलको मध्यस्थकर्ताको भूमिका एनभिएका सचिव इ. रबिन्द्र अधिकारी ले निर्वाह गर्नेछन्।
नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित ६४औँ इन्जिनियर्स दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ सम्मानित अतिथि तथा बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा विशेष अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
यसैबीच, नेपाल भ्यालुयर्स एशोसिएशनले आफ्नो विशेष सेसनलाई सफल बनाउन सम्पूर्ण मूल्याङ्कनकर्ता इन्जिनियर तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। मूल्याङ्कन पेशाको नीति, अभ्यास र भविष्यको दिशाबारे महत्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको यस छलफललाई यस वर्षको इन्जिनियर्स दिवसको एक प्रमुख आकर्षणका रूपमा हेरिएको छ।


