२९ असार २०८३, सोमबार | July 13, 2026

‘मेरो जीवन सरकारबाट असुरक्षित छ’ : जेनजी अभियानका अगुवा माजिद अन्सारी


0
Shares

काठमाडौं । शनिबार साँझ कीर्तिपुर स्थित होल्डिङ सेन्टरबाट पक्राउ परेका जेनजी अभियानका अगुवा माजिद अन्सारीले आफूलाई प्रहरीले कुटपिट गर्दै नियन्त्रणमा लिएको र आफ्नो जीवन तथा स्वतन्त्रता सरकारबाट असुरक्षित रहेको गम्भीर आरोप लगाएका छन्।

शरीरका विभिन्न भागमा चोट लागेपछि हालमा उपचाररत अन्सारीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्था र पक्राउको प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

अन्सारीका अनुसार, शनिबार साँझ करिब ५ बजे १०–१२ जनाको संख्यामा रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए। पक्राउ गर्ने क्रममा आफूलाई लछारपछार गर्दै कुटपिट गरिएको र त्यसबाट गम्भीर चोट लागेको उनले दाबी गरेका छन्।

“मलाई अहिलेसम्म पक्राउको कारण बताइएको छैन, न त कुनै पक्राउ पुर्जी नै देखाइएको छ। मेरो पक्राउको कानूनी हैसियतका बारेमा समेत कुनै स्पष्टता छैन,” अन्सारीले लेखेका छन्।

उनले आफूलाई कुन अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नदिइएको बताएका छन्। पक्राउ पुर्जी नदेखाइएको र कानूनी प्रक्रिया स्पष्ट नभएको दाबी गर्दै अन्सारीले यसलाई गैरकानूनी कारबाहीको रूपमा चित्रित गरेका छन्।

अन्सारीले गृहमन्त्री र नेपाल प्रहरी प्रमुखसमक्ष आफ्नो पक्राउ र कुटपिटसम्बन्धी घटनाको जवाफ मागेका छन्। साथै, आफ्नो जीवन र स्वतन्त्रता जोखिममा रहेको उल्लेख गर्दै उनले सांसदहरू,प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति
, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूलाई सहयोगका लागि अपिल गरेका छन्।

यस विषयमा प्रहरी वा सरकार पक्षको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया