बझाङ बोलेरो दुर्घटना: ६ गम्भीर घाइते हेलिकोप्टरमार्फत नेपालगञ्ज रेफर
बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ सुगुरेमा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।
शनिबार दिउँसो करिब ४ बजे बुंगल नगरपालिका विजगडाबाट दुर्गाथलीतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ च २६४४ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको थियो। जिपमा सवार १६ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ जना घाइते भएका थिए।
घटनाकै दिन गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर पठाइए पनि दुर्घटनास्थलमा प्रतिकूल मौसमका कारण अवतरण गर्न सकेको थिएन। त्यसपछि सदरमुकाम चैनपुरमा रोकिएको हेलिकोप्टरमार्फत आइतबार बिहान ६ जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो।
दुर्घटनापछि रातिसम्म विभिन्न एम्बुलेन्समार्फत घाइतेहरूलाई जिल्ला अस्पताल बझाङ पुर्याइएको थियो।
जिल्ला अस्पताल बझाङका ६ जना हर्का देवी महता,जयमती देवी महता,देवबहादुर धामी,रामबहादुर महता,रामबहादुर महता,झल्का देवी महतालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको हो ।
उनीहरूमध्ये केहीको टाउको, मेरुदण्ड, कम्मर तथा श्रोणीमा गम्भीर चोट लागेको छ। केहीको हातखुट्टाको हड्डी भाँचिनुका साथै खुला ९ओपन० फ्र्याक्चर भएको अस्पतालले जनाएको छ।
अन्य घाइतेमध्ये धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र दीपेन्द्र जाग्रीको अवस्था सामान्य रहेको छ। उनीहरूको प्लास्टरसहित आवश्यक उपचार गरी जिल्ला अस्पतालमै निगरानीमा राखिएको छ।
यस्तै हासुली देवी महता र वीरबहादुर जाग्रीको पनि जिल्ला अस्पताल बझाङमै उपचार भइरहेको छ। उनीहरूको अवस्था हाल स्थिर रहेको जिल्ला अस्पतालले जनाएको छ ।


