२१ असार २०८३, आइतबार | July 5, 2026

ध्रुवेको आक्रमणबाट ९ वर्षमा २५ जनाको ज्यान गयो


249
Shares

चितवन, २१ असार. चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली हात्ती ध्रुवे ले करिब ९ वर्षको अन्तरालपछि फेरि मानवीय क्षति निम्त्याएको छ। ध्रुवेको आक्रमणमा एकै परिवारका आमा र छोराको ज्यान गएसँगै यसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

२०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी मारेपछि लामो समय शान्त देखिएको ध्रुवे अचानक बस्तीमा प्रवेश गर्दै पुनः घातक बनेको हो। अधिकांश समय निकुञ्जको सुखीभार क्षेत्र मा बस्ने धुवे कहिलेकाहीँ मेघौली क्षेत्रसम्म पुग्ने गरेको स्थानीयहरू बताउँछन्।

ध्रुवे चितवन राष्ट्रिय निकुञ्जके सवैभन्दा बढी मानिसको ज्यान लिने जंगली हात्ती का रूपमा परिचित छ। २०६८-०६९ सालतिर लगातार मानिस मार्न थालेपछि २०६९ साल पुस १ गते तत्कालीन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले यसलाई मार्ने आदेश दिएको तर, सेनाले पटक-पटक गोली चलाउँदा पनि ध्रुवे बन्न सफल भयो।

विशेषगरी माडी क्षेत्रमा ध्रुवेको आतंक चरम थियो। २०६९ सालको कात्तिकदेखि एक महिनाभित्र मात्रे चार जनाको ज्यान लिएपछि यसलाई नियन्त्रण गर्न करिब १६ लाख रुपैयाँ खर्च गरियो। तर सेनाको अपरेशनपछि ध्रुवे पाँच वर्षसम्म रहस्यमय रूपमा हरायो र पछि फेरि सुखीभार क्षेत्रमा देखिन थालेको थियो।

यसको गतिविधि निगरानी गर्न रेडियो कलर जडान, दाह्रा काट्‌ने, बेहोस पारेर उपचार गर्ने तथा उत्तेजना कम गर्ने औषधिसमेत प्रयोग गरियो। यति प्रयासपछि केही समय शान्त देखिए पनि अहिले फेरि यसले मानवीय क्षति निम्त्याएको छ।

केही महिनाअघि ध्रुवे सौराहामा अर्को शक्तिशाली जंगली हात्ती रोनाल्डोु सँग भिडेको थियो। त्यस भिडन्तमा पराजित भएपछि ध्रुवे सुखीभार क्षेत्रमा रहेका पोथी हात्तीहरूको समूहसँग बस्दै आएको निकुञ्ज स्रोतले जनाएको छ।

ध्रुवेको पछिल्लो आक्रमणले चितवनका बासिन्दामा फेरि त्रास फैलिएको छ। स्थानीयले निकुञ्ज प्रशासनसँग मानव(वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

प्रतिक्रिया