१७ असार २०८३, बुधबार | July 1, 2026

रास्वपामा शक्ति बाँडफाँटको अन्तिम खेलः उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव लगभग पक्का


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको) प्रथम महाधिवेशनपछि अब सबैको नजर सभापति रवि लामिछानेको मनोनयन सूचीमा परेको छ।

वरिष्ठ नेतादेखि उपसभापति, महामन्त्री, प्रवक्ता र सचिवालय सदस्यसम्मको टुंगो लगाउने अधिकार पूर्ण रूपमा रविकै हातमा रहेकाले पार्टीभित्र तीव्र शक्ति समीकरण सुरु भएको छ।

पार्टीभित्रको बलियो चर्चाअनुसार उपसभापतिमा पूर्वाधारमन्त्री सुनिल लम्साल र महामन्त्रीमा भूपदेव को सम्भावना अत्यन्त बलियो देखिएको छ।

बालेन समूहलाई नेतृत्वमा समेट्दै पार्टीभित्र सन्तुलन कायम गर्ने रणनीतिअनुसार यी नियुक्ति हुन सक्ने नेताहरूको दाबी छ ।

यस्तै, वरिष्ठ नेता बन्न बालेन्द्र शाह लगभग निश्चित मानिएका छन् भने प्रवक्तामा प्रमोद न्यौपाने लाई ल्याउने तयारी भइरहेको स्रोतहरूको भनाइ छ । कोषाध्यक्षमा भने लीमा अधिकारी दोहोरिने सम्भावना पनि बलियो छ।

रास्वपाले महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित गरिसकेको भए पनि १० पदाधिकारी, ३१ सचिवालय सदस्य र ५१ केन्द्रीय सदस्य अझै मनोनयन गर्न बाँकी छन्। पार्टी विधानले यी सबै मनोनयन गर्ने पूर्ण अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

स्रोतका अनुसार मन्त्री बनेका नेतालाई पदाधिकारीभन्दा सचिवालयमा राख्ने तयारी भइरहेको छ। यसले सरकार र पार्टीबीच जिम्मेवारीको सन्तुलन मिलाउने रणनीति अपनाइएको बुझिएको छ।

अब रास्वपाको अन्तिम शक्ति बाँडफाँटमा कसले बाजी मार्छ भन्ने निर्णय रवि लामिछानेको एकल निर्णय ले गर्नेछ।

प्रतिक्रिया