१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

तनहुँ कांग्रेसमा किन आवश्यक छ गतिलो लोकतान्त्रिक ‘तेस्रो ध्रुव’ ?


November 2, 2026
0
Shares

सन्देश रानाभाट लौडारी । तनहुँ कांग्रेसको विगत र वर्तमान राजनीतिक अवस्थालाई हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ– के अब पनि जिल्ला कांग्रेस पुरानै शक्ति केन्द्र र गुटगत समीकरणको राजनीतिबाट अघि बढ्न सम्भव छ ?

तनहुँ कांग्रेस लामो समयसम्म रामचन्द्र पौडेल र गोविन्दराज जोशीको शक्ति राजनीतिमा अल्झियो। जिल्लाको कांग्रेस राजनीति लामो समय यी दुई नेताको प्रभाव र राजनीतिक प्रतिस्पर्धाको वरिपरि घुमिरह्यो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गोविन्दराज जोशी १४औँ महाधिवेशनमा सहभागी हुन नपाउने अवस्थामा पुगे। त्यससँगै तनहुँ कांग्रेसमा उनको प्रत्यक्ष राजनीतिक प्रभाव र नेतृत्वदायी भूमिका पनि कमजोर हुँदै गयो।

१४औँ महाधिवेशनमा भने तनहुँ कांग्रेस फेरि दुई राजनीतिक ध्रुवमा विभाजित भयो। बाहिरबाट हेर्दा बैकुण्ठ न्यौपाने एउटा ध्रुवको नेतृत्वमा देखिए पनि त्यसको पृष्ठभूमिमा रामचन्द्र पौडेलको राजनीतिक प्रभाव थियो। अर्को ध्रुवको नेतृत्वमा शंकर भण्डारी देखिए। त्यस समूहमा ध्रुव वाग्ले, जितप्रकाश आले र राजेन्द्रकृष्ण श्रेष्ठलगायतका नेताहरूको भूमिका महत्त्वपूर्ण थियो।

जिल्ला अधिवेशनमा शंकर भण्डारी, ध्रुव वाग्ले र जितप्रकाश आलेको समूहले चुनाव जित्यो। जितप्रकाश आले जिल्ला सभापति बने। तर जिल्ला सभापति पदमा एउटा पक्ष विजयी हुँदैमा तनहुँ कांग्रेसको सम्पूर्ण शक्ति संरचना पनि एउटै पक्षको हातमा गयो भन्न सकिने अवस्था थिएन।

जिल्लाको पार्टी संगठन, पालिका तथा वडा तहका उम्मेदवारी र निर्वाचनका टिकट वितरणमा बैकुण्ठ न्यौपानेको प्रभाव र हिस्सेदारी पनि उत्तिकै महत्त्वपूर्ण रह्यो। जिल्ला सभापति जितप्रकाश आलेले जति राजनीतिक हिस्सेदारी पाउँथे, बैकुण्ठ न्यौपानेले पनि त्यति नै प्रभाव राख्ने अवस्था थियो। यसको एउटा प्रमुख कारण दुवै जना रामचन्द्र पौडेलका विश्वासिला पात्र हुनु थियो।

यसरी नेतृत्व र संगठनभित्र शक्ति बाँडफाँटको अभ्यास चलिरह्यो। तर यसको परिणाम तनहुँ कांग्रेसले अपेक्षा गरेअनुसार प्राप्त गर्न सकेन। विगतका संसदीय निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न सकेन। संगठनभित्रको गुटगत प्रतिस्पर्धा, शक्ति सन्तुलन र नेतृत्वबीचको अविश्वासले पार्टीको चुनावी क्षमता र जनविश्वासमा समेत असर पारेको विश्लेषण गर्ने ठाउँ छ।

अब प्रश्न उठ्छ– विगतमा तनहुँ कांग्रेसलाई नेतृत्व गरेका र शक्ति सन्तुलनको राजनीतिमा संलग्न रहेका यिनै पात्र र पुरानै समीकरणबाट के नयाँ परिणामको अपेक्षा गर्न सकिन्छ?

तनहुँ कांग्रेसका आम कार्यकर्तामा अब पुरानै राजनीतिक पात्रहरूबाट बनेका ध्रुव र तिनै ध्रुवबीचको शक्ति बाँडफाँटले पार्टीलाई नयाँ दिशा दिन सक्दैन भन्ने सोच विकास हुँदै गएको देखिन्छ। यो सोचलाई केवल असन्तुष्टि भनेर बुझ्नु हुँदैन। यसलाई संगठनभित्र परिवर्तनको चाहनाका रूपमा लिनुपर्छ।

तनहुँ कांग्रेसको वर्तमान राजनीतिक अवस्थालाई हेर्दा अर्को गम्भीर प्रश्न उठ्छ– के हाम्रो राजनीति केवल गुटगत शक्ति सन्तुलन र पद प्राप्तिको प्रतिस्पर्धामा सीमित हुँदै गएको छैन ?

जिल्ला अधिवेशनको सन्दर्भमा देखिएका गतिविधिले पनि यही प्रश्नलाई थप बलियो बनाएका छन्। को कुन पक्षमा छ, कसको समर्थन कसलाई छ, कसको प्रभाव कति छ र कसले कसलाई नेतृत्वमा पुर्‍याउन सक्छ भन्ने हिसाबकिताब बढी देखिन्छ। तर तनहुँ कांग्रेसलाई आगामी पाँच वर्षमा कुन दिशामा लैजाने, संगठनलाई कसरी बलियो बनाउने, युवालाई कसरी आकर्षित गर्ने र आम कार्यकर्ताको विश्वास कसरी फर्काउने भन्ने बहस अपेक्षाकृत कमजोर देखिन्छ।

नेतृत्व चयनमा प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर प्रतिस्पर्धा विचार, दृष्टिकोण, योजना र कार्यक्षमताका आधारमा हुनुपर्छ। व्यक्तिकेन्द्रित गुटबन्दी, शक्ति प्रदर्शन र राजनीतिक समीकरणका आधारमा मात्र नेतृत्व चयन गर्ने प्रवृत्तिले पार्टीलाई दीर्घकालीन रूपमा कमजोर बनाउँछ।

अब किन आवश्यक छ तेस्रो ध्रुव ?

यही परिस्थितिमा तनहुँ कांग्रेसमा एउटा गतिलो, वैचारिक र लोकतान्त्रिक ‘तेस्रो ध्रुव’को आवश्यकता देखिएको छ।

तेस्रो ध्रुव भन्नाले कुनै व्यक्तिको विरोधमा अर्को समूह निर्माण गर्नु वा नेतृत्वको भागबन्डाका लागि नयाँ गुट खडा गर्नु होइन। यसको अर्थ हो– विद्यमान गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर पार्टीको सिद्धान्त, संगठनात्मक शुद्धता, लोकतान्त्रिक मूल्य र कार्यकर्ताको सम्मानलाई केन्द्रमा राख्ने वैकल्पिक राजनीतिक धार निर्माण गर्नु।

तेस्रो ध्रुवले कसैको व्यक्तिगत प्रभावलाई चुनौती दिन सक्छ, तर व्यक्तिप्रति पूर्वाग्रह राख्नु हुँदैन। नेतृत्वको मूल्याङ्कन निष्ठा, क्षमता, इमानदारी, योगदान र परिणामका आधारमा गर्नुपर्छ। विगतमा कुन समूहमा थियो भन्नेभन्दा वर्तमानमा पार्टी र संगठनका लागि के गर्न सक्छ भन्ने कुरालाई प्राथमिकता दिनुपर्छ।

यस्तो लोकतान्त्रिक तेस्रो ध्रुवले निम्न विषयलाई आफ्नो राजनीतिक आधार बनाउनुपर्छ ः

१। गुट होइन, विचारको राजनीति ः पार्टीभित्र विचार, नीति र कार्यक्रमका आधारमा बहस गर्ने संस्कार विकास गर्नुपर्छ।

२। व्यक्ति होइन, संस्थागत नेतृत्व ः पार्टी कुनै व्यक्तिको निजी प्रभावमा होइन, विधि, विधान र सामूहिक निर्णयका आधारमा सञ्चालन हुनुपर्छ।

३। निष्ठावान् कार्यकर्ताको सम्मान ः वर्षौँदेखि संगठनमा योगदान दिएका इमानदार र सक्रिय कार्यकर्तालाई अवसर र जिम्मेवारी दिनुपर्छ।

४। युवा पुस्ताको वास्तविक सहभागिता ः युवालाई नारामा मात्र सीमित नराखी निर्णय प्रक्रिया र नेतृत्वमा अर्थपूर्ण स्थान दिनुपर्छ।

५। समावेशी र सक्षम नेतृत्व ः सामाजिक, क्षेत्रीय तथा वर्गीय विविधताको सम्मान गर्दै क्षमता र कार्यसम्पादनलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।

६। परिणाममुखी संगठन ः निर्वाचनका बेला मात्र सक्रिय हुने होइन, जनताका दैनिक समस्या, विकास, सुशासन र सामाजिक न्यायका सवालमा निरन्तर काम गर्ने संगठन निर्माण गर्नुपर्छ।

तनहुँ कांग्रेसले विगतका निर्वाचनबाट प्राप्त गरेका सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्छ। विशेषगरी युवा मतदाताको बदलिँदो मनोविज्ञान, नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षण र परम्परागत राजनीतिक दलप्रतिको घट्दो विश्वासलाई केवल क्षणिक असन्तुष्टि ठानेर बेवास्ता गर्नु हुँदैन।

अब प्रश्न कसले जिल्ला सभापति जित्छ भन्ने मात्र होइन। प्रश्न हो– जित्ने नेतृत्वले तनहुँ कांग्रेसलाई कसरी बदल्छरु संगठनभित्रको असन्तुष्टि कसरी सम्बोधन गर्छ ? गुटगत विभाजन कसरी अन्त्य गर्छरु र नयाँ पुस्तालाई कांग्रेसप्रति आकर्षित गर्ने विश्वसनीय आधार कसरी तयार गर्छरु

तेस्रो ध्रुवले यी प्रश्नको जवाफ दिन सक्नुपर्छ। यो कुनै व्यक्तिको उम्मेदवारीलाई स्थापित गर्ने अभियान होइन, बरु राजनीतिक संस्कार र संगठनात्मक रूपान्तरणको अभियान बन्नुपर्छ।

अन्ततः तनहुँ कांग्रेसलाई अहिले अर्को गुटको आवश्यकता छैन, अर्को राजनीतिक संस्कारको आवश्यकता छ। अर्को शक्ति केन्द्रको आवश्यकता छैन, विचार र सिद्धान्तमा आधारित वैकल्पिक नेतृत्वको आवश्यकता छ।

किनकि गुट परिवर्तन गर्दैमा राजनीति परिवर्तन हुँदैन। पात्र परिवर्तन गर्दैमा राजनीतिक संस्कार परिवर्तन हुँदैन। राजनीति परिवर्तन हुन विचार, व्यवहार, नेतृत्वको चरित्र र कार्यशैली परिवर्तन हुनुपर्छ।

अब तनहुँ कांग्रेसमा पुराना शक्ति केन्द्रहरूको छायाबाट बाहिर निस्केर लोकतान्त्रिक मूल्य, वैचारिक स्पष्टता, संगठनात्मक रूपान्तरण र कार्यकर्ताको स्वाभिमानको पक्षमा उभिने एउटा सशक्त तेस्रो ध्रुव निर्माण हुनु आवश्यक छ।

व्यक्ति होइन, विचार प्रधान होस्। गुट होइन, संगठन बलियो बनोस्। शक्ति बाँडफाँट होइन, जिम्मेवारी र जवाफदेहिता स्थापित होस्। पद होइन, पद्धति स्थापित होस्।

यही नै आजको तनहुँ कांग्रेसको आवश्यकता हो।

प्रतिक्रिया