१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

विश्वप्रकाशको प्रश्न– ‘गिरफ्तारी गर्ने निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने ?’


October 31, 2026
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणमा सरकारसँग जवाफदेहिता मागेका छन्। पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना सकिएको मान्न नमिल्ने भन्दै उनले गिरफ्तारीको निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताएका छन्।

शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरणले सरकारको जिम्मेवारी पूरा नहुने टिप्पणी गरेका छन्।

‘प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार सरकारका रूपमा देखिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ उनले लेखेका छन्।

केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतंक सिर्जना गर्नेहरू को थिए भन्ने प्रश्न उठाउँदै शर्माले त्यस घटनाका दोषी पहिचान गरी सार्वजनिक गर्न पनि सरकारले नचाहेको आरोप लगाएका छन्।

सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको भन्दै समयमै विरोध जनाएकोमा उनले सकारात्मक टिप्पणी गरेका छन्। तर, गैरकानुनी गतिविधि निरन्तर घटनाका रूपमा दोहोरिन थालेपछि त्यो प्रवृत्ति बन्ने भन्दै उनले सरकार र सत्तारूढ दलको भूमिकामाथि प्रश्न उठाएका छन्।

उनले सत्तारूढ दलको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रताको प्रतिबद्धता सरकारले व्यवहारमै कार्यान्वयन गर्छ कि गर्दैन भन्ने प्रश्नसमेत गरेका छन्।

स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको उल्लेख गर्दै शर्माले गलत तथा भ्रामक समाचारको खण्डन, नियन्त्रण र कारबाहीका लागि कानुनी विधि हुँदाहुँदै त्यसलाई छाडेर पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा हस्तक्षेप गर्ने कार्य अस्वीकार्य भएको बताएका छन्।

उनले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गैरकानुनी गतिविधि बन्द गर्न र पत्रकार पक्राउको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया