मुख छोपेर बोल्दा विश्वकपमा खेलाडीले पाए रेड कार्ड
काठमाडौं । मुख छोपेर बोल्दा विश्वकपमा इक्वेडरका खेलाडीले रेड कार्ड खाएका छन् । वादविवादका क्रममा मुख छोपेर विपक्षी खेलाडीहरुलाई गाली गरेको आरोपमा जारी विश्वकपमा दोस्रोपटक इक्वेडरका पियरो हिनकेपीलाई रेड कार्ड दिइएको हो ।
घरेलु टिम मेक्सिकोविरुद्धको खेलमा हिनकेपीले रेड कार्ड खाएका हुन् । खेलको अतिरिक्त समयको पनि अन्तिमतिर हिनकेपी बाहिरिएका थिए, जतिबेला मेक्सिकोको जित निश्चित भइसकेको थियो । भिडिओ एसिस्टेन्ट रेफ्रीको सहारामा अम्पायरले रेडकार्ड दिने निर्णय गरेका हुन् ।
फुटबलको नयाँ नियम अनुसार विपक्षी खेलाडीहरुसँग भनाभनका क्रममा कसैले मुख छोपेर बोलेको खण्डमा अम्पायरले रेडकार्ड दिन सक्छन् ।
मुख छोपेर अश्लिल वा जातीय गाली गर्ने प्रवित्तिलाई रोक्न यो नियम लगाइएको हो । यो विश्वकपमा पहिलोपटक लगाइएको नियमका आधारमा यसअघि पाराग्वेका खेलाडीले रेडकार्ड पाएका थिए ।


