गगन थापा र इनम सापकोटाबीच १८ करोडको डिल भएको आरोपको कांग्रेसद्वारा खण्डन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र अदालतमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाबीच १८ करोड रुपैयाँको डिल भएको भन्ने चर्चालाई कांग्रेसले पूर्णतः निराधार र भ्रामक भन्दै खण्डन गरेको छ।
सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा सापकोटाको कथित बयानलाई उद्धृत गर्दै कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्न थापाले १८ करोड रुपैयाँको डिल गरेको र न्यायाधीशलाई ३ करोड रुपैयाँ बुझाएको दाबीसहितका विवरण सार्वजनिक भएका थिए।
उक्त आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सभापति थापाको सचिवालयले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित सुनियोजित प्रचारको संज्ञा दिएको छ। सरकारका पछिल्ला गतिविधि र नागरिक स्वतन्त्रतासम्बन्धी विषयबाट ध्यान मोड्न प्रतिपक्षी दलमाथि भ्रम फैलाइएको सचिवालयको दाबी छ।
कांग्रेसले विशेष महाधिवेशन, पार्टीको आधिकारिकता र नेतृत्वसम्बन्धी विषय निर्वाचन आयोग तथा अदालतका निर्णयबाट पुष्टि भइसकेको जनाएको छ। साथै, संविधान, प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशअनुसार सम्पन्न १५औँ महाधिवेशनले पार्टीको नेतृत्व र निर्णय प्रक्रियालाई थप संस्थागत गरेको जिकिर गरेको छ।
सचिवालयले बिचौलियासँग सम्बन्धित सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्नेमा पार्टी स्पष्ट रहेको जनाएको छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारलाई पूर्ण साथ रहने तर अनुसन्धान चयनात्मक र राजनीतिक प्रभावमा पर्ने सम्भावनाप्रति गम्भीर आशङ्का रहेको कांग्रेसको भनाइ छ।
सभापति थापाले यसअघि पार्टी केन्द्रीय कार्यालयमा बोल्दै अनुसन्धानसँग सम्बन्धित प्रहरीका छापसहितका कागजात, कथित बयान र विवरण छानिछानी सार्वजनिक हुनुले प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भइरहेको हो कि भन्ने आशङ्का पैदा गरेको बताएका थिए।
कांग्रेसले निष्पक्ष अनुसन्धानबाट आफूहरू पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई दोषी करार गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको सचिवालयले उल्लेख गरेको छ।
कांग्रेसले सम्बन्धित सबै पक्षलाई तथ्य र प्रमाणका आधारमा जिम्मेवार ढङ्गले समाचार प्रस्तुत गर्न तथा अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आमनागरिकलाई आग्रह गरेको छ।


