१३ असार २०८३, शनिबार | June 27, 2026

कारागारभित्रैबाट १३ लाख गायब, मोरङ जेलको भत्ता काण्डमा गुण्डानाइके गिरी पक्राउ


0
Shares

विराटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरिएको गर्मी भत्ताको १३ लाख ४० हजार रुपैयाँ कारागारभित्रैबाट रहस्यमय रूपमा गायब भएको घटनाले ठूलो हलचल मच्चाएको छ। घटनामा विराटनगरका विवादास्पद छविका व्यक्ति तथा पूर्वकैदी अभिषेक गिरी पक्राउ परेका छन्।

कारागार प्रशासनले बुधबारदेखि शुक्रबारसम्म १ हजार १ सय ८५ जना कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँका दरले गर्मी भत्ता वितरण गरेको थियो। तर शुक्रबार ‘बी ब्लक’ का ५३६ जना कैदीबन्दीलाई बाँडिएको १३ लाख ४० हजार रुपैयाँ केही घण्टामै गायब भएको खुलेपछि प्रशासन र सुरक्षा निकाय नै झस्किएका हुन्।

घटनापछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा गरिएको आकस्मिक अनुगमनमा अधिकांश कैदीबन्दीसँग भत्ता रकम फेला परेन। कैदीहरूले पैसा पाएको स्वीकार गरे पनि धेरैसँग ५०० देखि १ हजार रुपैयाँ मात्र भेटिएको थियो। बाँकी रकमबारे सोध्दा उनीहरूले घरपरिवारलाई पठाइसकेको जवाफ दिएका थिए।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा कोठा–कोठामै पुगेर नगद वितरण गरेको थियो। तर वितरणको केही समयमै रकम गायब भएपछि घटनाले गम्भीर रूप लिएको हो।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा ‘बी ब्लक’का निमित्त चौकीदार चन्चल बर्मन ले सोधपुछका क्रममा अभिषेक गिरीको नाम उल्लेख गरेका थिए। त्यसपछि प्राप्त सूचनाका आधारमा शनिबार बिहान गिरीको घरमा खानतलासी गरिएको थियो। सुरुमा हतियार खोज्ने उद्देश्यले सर्च अपरेशन गरिएको प्रहरीले पछि कैदीबन्दीको भत्ता दुरुपयोग गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कारागारभित्रबाटै कैदीबन्दीको भत्ता गायब भएको घटनामा गिरीको संलग्नताबारे थप अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार कारागारसँग सम्बन्धित अन्य आर्थिक गतिविधि पनि गिरीसँग जोडिएको आशंका गरिएको छ।

अनुसन्धानका क्रममा अर्को गम्भीर तथ्य पनि बाहिर आएको छ। कारागारभित्र कैदीबन्दीले उत्पादन गर्ने मुढा बिक्रीबाट आउने रकमसमेत उनीहरूले नपाउने गरेको प्रारम्भिक तथ्य फेला परेको छ। उक्त रकम हिनामिनामा पनि गिरीको नाम जोडिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरेका गिरी मोरङ कारागारमै लामो समय चौकीदार थिए। कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन र आर्थिक शोषण गरेको आरोप उनीमाथि पहिलेदेखि नै लाग्दै आएको थियो। दुई वर्षअघि जेलबाट छुटेपछि उनले गिरी फाउन्डेशन स्थापना गरी सामाजिक अभियानमा सक्रिय भएको दाबी गरेका थिए भने पछिल्लो समय नेपाली कांग्रेस को राजनीतिमा पनि सक्रिय थिए। उनी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता गुरुराज घिमिरे का चुनावी कमाण्डरसमेत बनेका थिए।

अब कारागारभित्रबाटै लाखौं रुपैयाँ कसरी बाहिरियो, त्यसमा कसको–कसको संलग्नता छ, र कैदीबन्दीको भत्ता तथा श्रमबाट आएको रकम कहाँ पुग्यो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया