रास्वपामा पदको महायुद्ध: उपसभापति–महामन्त्रीमा कसको कति बलियो दाबी ?
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले केन्द्रीय सदस्य चयनको प्रतिस्पर्धा मात्र होइन, पार्टीभित्रको भावी शक्ति केन्द्रको लडाइँसमेत सतहमा ल्याएको छ। सभापति रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेपछि अब सबैको ध्यान पदाधिकारीको दौडमा केन्द्रित भएको छ।
रास्वपाको विधानले पदाधिकारी बन्न केन्द्रीय सदस्य हुनु अनिवार्य बनाएको छ। तर, यही विधानले सभापतिलाई केन्द्रीय सदस्य मनोनीत गरेर तिनैलाई पदाधिकारीमा समेत नियुक्त गर्ने विशेष अधिकार दिएको छ। यही व्यवस्थाले महाधिवेशनअघि नै नयाँ शक्ति समीकरणको चर्चा चुलिएको छ।
प्रधानमन्त्री बालेन शाहनिकट समूहले चुनावी मैदानबाट दूरी बनाएर मनोनयनको बाटो रोजेपछि उनीहरू प्रत्यक्ष प्रतिस्पर्धा नगरीकनै पार्टीको शीर्ष नेतृत्वमा पुग्ने रणनीतिमा रहेको बुझिएको छ। यही समूहका पूर्वाधारमन्त्री सुनिल लम्सालले उपसभापति र भूपदेव शाहले महामन्त्री पदमा दाबी प्रस्तुत गरिसकेका छन्।
महाधिवेशनबाट विधान संशोधन गरी पदाधिकारी संख्या १२ बाट बढाएर १९ पुर्याइएपछि शीर्ष तहमा पुग्ने आकांक्षीहरूको संख्या पनि ह्वात्तै बढेको छ। अब पार्टीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ रहनेछन्।
तर सबै पद निर्वाचनबाट भरिने छैनन्। ९९ जना निर्वाचित केन्द्रीय सदस्यमध्येबाट दोस्रो चरणको मतदानमार्फत मात्र २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री चयन हुनेछन्। बाँकी पदाधिकारीको टुंगो सभापति लामिछानेको मनोनयनबाट लाग्नेछ। यही कारण अहिले प्रतिनिधिको मतभन्दा पनि रविको विश्वास जित्ने प्रतिस्पर्धा तीव्र बनेको टिप्पणी नेताहरूले गर्न थालेका छन्।
महिला उपसभापतिको दौड विशेष चासोको विषय बनेको छ। कानुनमन्त्री सोबिता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल तथा कोषाध्यक्ष लिमा अधिकारीलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ। तीनै नेतृबीचको प्रतिस्पर्धाले महिला नेतृत्वको शक्ति परीक्षण हुने अनुमान गरिएको छ।
खुला महामन्त्री पदमा भने प्रतिस्पर्धा अझ पेचिलो देखिएको छ। निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी आफ्नो पद जोगाउने प्रयासमा छन् भने विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली र यज्ञमणि न्यौपानेले पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन्।
यसैबीच डा। तोसिमा कार्कीको नामले पनि महाधिवेशनको राजनीतिक तापक्रम बढाएको छ। उनी उपसभापति वा महामन्त्रीमध्ये कुनै एक पदमा भिड्न सक्ने चर्चा चुलिएको छ। यदि महिला उपसभापतिको प्रतिस्पर्धाबाट बाहिरिइन् भने महामन्त्रीको दौडमा सबैभन्दा प्रभावशाली उम्मेदवारका रूपमा उदाउने धेरै नेताहरूको आकलन छ।
महाधिवेशन सकिँदासम्म पदाधिकारी चयनको लडाइँले रास्वपाभित्र नयाँ शक्ति सन्तुलन निर्माण गर्ने निश्चित छ। प्रश्न अब एउटै छ—पार्टीको भविष्य प्रतिनिधिको मतले निर्धारण गर्नेछ कि सभापति रवि लामिछानेको मनोनयन अधिकारले रु चितवनमा यही प्रश्नको उत्तर खोज्ने राजनीतिक संघर्ष उत्कर्षमा पुगेको छ।

