१० असार २०८३, बुधबार | June 24, 2026

‘बालेन समूह’को नयाँ रणनीति :चुनावबाट होइन,मनोनयनबाट शक्तिकेन्द्र कब्जा गर्ने दाउ !


332
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयनका लागि चुनावी प्रतिस्पर्धा चरम उत्कर्षमा पुगेको बेला पार्टीभित्रको एउटा शक्तिशाली समूह भने चुनावी मैदानबाटै गायब भएको छ । ९९ केन्द्रीय सदस्यका लागि ३५५ जना उम्मेदवार प्रतिनिधिको मत माग्दै दौडधुपमा व्यस्त रहँदा प्रधानमन्त्री बालेन शाहनिकट करिब डेढ दर्जन नेताहरूले भने उम्मेदवारी नै दर्ता नगरी अर्को बाटो रोजेका छन्।

रास्वपाभित्र यसलाई ‘चुनाव होइन, मनोनयनको राजनीति’ भनेर व्याख्या गर्न थालिएको छ।

महाधिवेशनस्थलका नेताहरूका अनुसार प्रधानमन्त्री बालेन शाह स्वयं केन्द्रीय सदस्यको चुनाव नलडी सभापति रवि लामिछानेको तजबिजमा वरिष्ठ नेताको हैसियतमा मनोनीत हुने लगभग निश्चित भएपछि मतदानअघि नै काठमाडौं फर्किएका छन्। यसले पार्टीभित्र नयाँ शक्ति समीकरणबारे थप चर्चा चुलिएको छ।

बालेन समूहबाट यसअघि २६ जना नेता केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। तर, यसपटक उनीहरूमध्ये अधिकांशले निर्वाचन प्रक्रियाबाट दूरी बनाएका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलजस्ता सीमित नेताबाहेक अधिकांश प्रभावशाली अनुहार उम्मेदवारी सूचीमा देखिएका छैनन्।

गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, भूपदेव शाह, लक्ष्मण थारू, रमेश पौडेल, सन्तोष गिरी, सरिता ज्ञवाली, जेम्स कार्की, लक्ष्मी बर्देवा, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, मधुसुधन ढकाल, ओजश्वी थापा, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउदलगायत नेताहरू पनि चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

पर्यटनमन्त्री गनेस पौडेलले त अझ एक कदम अघि बढ्दै आफू उम्मेदवार नबन्ने मात्र होइन, कसैको प्रस्तावकसमेत नबस्ने सार्वजनिक घोषणा गरिसकेका छन्।

यसबीच सभापति रवि लामिछानेले महाधिवेशनमा पुराना र विभिन्न अभियान तथा राजनीतिक पृष्ठभूमिबाट आएका नेताहरूबीच सन्तुलन मिलाउने संकेत दिएका छन्। विवेकशील साझा, थरुहट आन्दोलन तथा अन्य समूहबाट रास्वपामा समायोजन भएका नेताहरूलाई मनोनयनमार्फत न्याय दिने उनको तयारी रहेको स्रोतहरूको दाबी छ।

तर, यही व्यवस्थाले पार्टीभित्र अर्को बहस पनि जन्माएको छ—के रास्वपामा नेतृत्व चयनको वास्तविक शक्ति प्रतिनिधिको मतमा छ, कि सभापतिको मनोनयन अधिकारमा रु

महाधिवेशनको चुनावी माहोल तातिरहेको बेला बालेन समूहको ‘नो इलेक्सन, यस मनोनयन’ रणनीतिले रास्वपाभित्रको आगामी शक्ति सन्तुलन कता मोडिने हो भन्ने प्रश्न झन् पेचिलो बनेको छ। चुनावी मैदानमा नउत्रिए पनि केन्द्रीय नेतृत्वको निर्णायक तहमा पुग्ने उनीहरूको योजनाले महाधिवेशनपछि पार्टीभित्र नयाँ शक्ति केन्द्र निर्माण हुने संकेत स्पष्ट देखिएको छ।

प्रतिक्रिया