८ असार २०८३, सोमबार | June 22, 2026

काठमाडौं–१४ को सार्वजनिक सुनुवाइ: सुरक्षा, खानेपानी मुख्य एजेन्डा, मिनी स्टेडियम निर्माणका लागि बजेट सुनिश्चित


415
Shares

काठमाडौं, ८ असार — काठमाडौं महानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्ष २०८२ र ०८३ मा सम्पन्न विकास निर्माण, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि योजना छनोट र बजेट तर्जुमा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार बिहान कलंकीस्थित कोजी फुडल्याण्डमा आयोजित कार्यक्रममा वडाभित्रका नागरिक, सामाजिक संघ–संस्था, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाइमार्फत वडाले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रम, खर्च भएको बजेट, प्राप्त उपलब्धि तथा नागरिकलाई प्रदान गरिएका सेवाबारे विस्तृत जानकारी गराएको थियो। कार्यक्रममा स्थानीयवासीहरूले विशेषगरी सीसीटीभी जडानको अभाव, सुरक्षा व्यवस्थाको सुदृढीकरण, खानेपानी समस्या तथा हरियाली व्यवस्थापन जस्ता विषयलाई प्राथमिकताका साथ उठाएका थिए।

वडाध्यक्ष सुमन श्रेष्ठ ले खानेपानीको प्रत्यक्ष व्यवस्थापन वडाको जिम्मेवारीभित्र नपर्ने भए पनि नेपाल खानेपानी संस्थान र केयूकेएलसँग समन्वय गरी मेलम्चीको पानी नियमित रूपमा उपलब्ध गराउने विषयमा पहल भइरहेको जानकारी दिए।

उनले वडा क्षेत्रमा देखिएका सडक समस्याको मुख्य कारण मेलम्ची खानेपानी आयोजना र नेपाल विद्युत प्राधिकरण ले भूमिगत संरचना निर्माणका क्रममा जथाभावी सडक खनेर समयमै मर्मत नगर्नु रहेको बताए। यसले स्थानीयवासीलाई सास्ती भोग्नुपरेको उल्लेख गर्दै ती निकायहरूको लापरबाहीप्रति ध्यानाकर्षण गराए।

कार्यक्रममा सहभागी स्थानीय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले वडा नम्बर १४ भित्र भएका अधिकांश विकास निर्माणका काम सन्तोषजनक रूपमा सम्पन्न भएको भन्दै जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका थिए। उनीहरूले विगतको तुलनामा बल्खु र आसपासका क्षेत्रको पूर्वाधार, व्यवस्थापन प्रणाली तथा समग्र वातावरणमा उल्लेखनीय सुधार आएको भन्दै खुसी व्यक्त गरे।

वडाध्यक्ष श्रेष्ठका अनुसार वडा नम्बर १४ चारैतर्फबाट बागमती, बल्खु, करखुसी र मनमती नदीले घेरिएको क्षेत्र भएकाले विपद् व्यवस्थापन समितिले यसलाई काठमाडौं उपत्यकाकै उच्च जोखिमयुक्त बाढीग्रस्त क्षेत्रका रूपमा पहिचान गरेको छ। अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिसँग समन्वय गरेर वडा कार्यालयले सडक तथा नदी सरसफाइका कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको उनले बताए।

खेलकुद पूर्वाधार विस्तारतर्फ महत्वपूर्ण घोषणा गर्दै श्रेष्ठले बल्खुको कुलेश्वरस्थित ऐतिहासिक खेल मैदान, जहाँ विगतमा साफ गेम्सअन्तर्गत भलिबल प्रतियोगिता आयोजना हुने गर्थ्यो, त्यस क्षेत्रलाई स्तरोन्नति गरी ‘मिनी भलिबल कोर्ट’ र ‘मिनी स्टेडियम’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट केन्द्रबाट सुनिश्चित भइसकेको जानकारी दिए।

वडाको वित्तीय अवस्थाबारे जानकारी दिँदै उनले चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ करिब ९० प्रतिशत र चालुतर्फ करिब ८० प्रतिशत बजेट खर्च भई अधिकांश कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए। यस वर्ष २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म २३ करोड रुपैयाँ संकलन भइसकेको र असार मसान्तसम्ममा करिब २५ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

त्यसैगरी वडाभित्र रहेका करिब २४–२५ वटा संघ–संस्थाको क्षमता अभिवृद्धि, युवालक्षित सीपमूलक तालिम, विभिन्न सामाजिक कार्यक्रम तथा सरसफाइ अभियान सञ्चालनका लागि माग र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी पनि दिइयो।

कार्यक्रमको समापन गर्दै वडाध्यक्ष श्रेष्ठले सार्वजनिक सुनुवाइमा प्राप्त भएका सम्पूर्ण सुझाव, गुनासा र सल्लाहलाई आगामी योजना तथा बजेट निर्माणको आधार बनाइने बताउँदै नागरिक सहभागितामूलक विकासलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया