रास्वपा कांग्रेसको दुश्मन नभई राजनीतिक प्रतिस्पर्धी हो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो पार्टीको दुश्मन नभई राजनीतिक प्रतिस्पर्धी भएको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र रास्वपाबीचको सम्बन्ध प्रतिस्पर्धाको भए पनि वैमनस्यताको नभएको स्पष्ट पारे।
महाधिवेशन मञ्चबाट बोल्दै थापाले रास्वपाको बढ्दो प्रभाव र लोकप्रियतालाई खुलेर स्वीकार गरे । उनले रास्वपाको उचाइ देखेर आफूहरूलाई पनि अझ राम्रो बन्ने प्रेरणा मिलेको भन्दै कांग्रेसले पनि त्यही स्तरको विश्वास र समर्थन हासिल गर्ने लक्ष्य राखेको बताए।
‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं। तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं, बन्छौं पनि एक दिन,’ थापाले भने।
उनले कांग्रेसको राजनीति प्रतिद्वन्द्वीलाई कमजोर बनाएर अघि बढ्ने नभई आफ्नै कमजोरी सुधारेर बलियो बन्ने दिशामा केन्द्रित रहने बताए। ‘तपाईंहरूलाई सानो बनाएर होइन, तपाईंहरूको खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने।
थापाले कांग्रेसभित्र रहेका विकृति र कमजोरीलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं,’ उनले भने।
थापाको यो अभिव्यक्तिलाई रास्वपाप्रति कांग्रेसको दृष्टिकोणमा आएको नयाँ राजनीतिक सन्देशका रूपमा हेरिएको छ। प्रतिस्पर्धी दलको लोकप्रियताको खुलेर प्रशंसा गर्दै आफ्नै पार्टी सुधारको आवश्यकता औंल्याएको उनको भनाइले महाधिवेशनमा विशेष चर्चा पाएको छ।

