कांग्रेसको खुला चुनौती, प्रधानमन्त्रीलाई जोगाउन सभामुख प्रयोग भएको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुखमाथि नै अप्रत्यक्ष अविश्वास व्यक्त गर्दै अब उनको उपस्थितिले संसदमा कुनै फरक नपर्ने घोषणा गरेको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखको भूमिकामाथि कडा प्रहार गर्दै भने, “उहाँ आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार छैन। उहाँ गौण भइसक्नुभयो।”
कांग्रेसको यो अभिव्यक्ति केवल सभामुखप्रति असन्तुष्टि मात्र होइन, संसद सञ्चालनको निष्पक्षतामाथि नै प्रश्नचिन्ह खडा गर्ने राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते संसदमा दिएको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू लगातार आक्रामक छन्। कांग्रेसको आरोप छ—प्रधानमन्त्रीले राष्ट्रियताको विषयमा गम्भीर भूल गरेका छन्, तर सरकार र सभामुख दुवैले त्यसलाई ढाकछोप गर्न खोजिरहेका छन्।
आङ्देम्बेले प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने पर्याप्त अवसर हुँदाहुँदै पनि कांग्रेसले राष्ट्रिय हितलाई प्राथमिकता दिएको दाबी गरे।
“हाम्रो पार्टीभित्रै प्रधानमन्त्रीलाई अझै कडा रूपमा पेल्नुपर्छ भन्ने मत आएको थियो,” उनले भने, “तर सीमा विवादलाई अनावश्यक रूपमा लम्ब्याउँदा राष्ट्रियता कमजोर हुन्छ भन्ने बुझेर हामी संयमित भयौं।”
कांग्रेसले संसद अवरोध अन्त्य गर्न संकेत गरे पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफ्नो विरोध कायमै रहेको स्पष्ट पारेको छ। आङ्देम्बेले प्रधानमन्त्रीले सदनमा आएर सार्वजनिक रूपमा सफाइ दिनुपर्ने माग दोहोर्याउँदै चेतावनी दिए कि उनको अभिव्यक्ति अब इतिहास र संसदको अभिलेखमा स्थायी रूपमा दर्ज भइसकेको छ।
“प्रधानमन्त्रीले भुलबस बोलेको कुरा अब इतिहासमा लेखिएको छ। सदनको रेकर्डमा छ। त्यसबाट उहाँ उम्किन सक्नुहुन्न,” आङ्देम्बेको टिप्पणी थियो।
कांग्रेसको यो अभिव्यक्तिले संसदभित्रको शक्ति संघर्ष थप सतहमा ल्याएको छ। एकातिर प्रधानमन्त्रीमाथि दबाब बढाउने रणनीति, अर्कोतिर सभामुखमाथि निष्पक्षता गुमाएको संकेत—बुधबारको संसद बैठक राजनीतिक टकरावको नयाँ अध्याय बनेको छ।

