एसबीआई र प्राइम बैंकमा असार ३ गतेदेखि मूल्यांकन सेवा ठप्प हुने
काठमाडौं, जेठ २२ – सम्पत्ति मूल्यांकन इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंक विरुद्ध कडा आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको एनभिएको बैठकले आगामी असार ३ गतेदेखि दुवै बैंकमा सम्पत्ति मूल्यांकन सम्बन्धी सम्पूर्ण काम ठप्प पार्ने निर्णय गरेको हो।
एनभिएका सचिव इ. रबिन्द्र अधिकारी का अनुसार लामो समयदेखि बैंकहरूसँग वार्ता र संवाद भइरहे पनि कुनै ठोस निष्कर्ष ननिस्किएपछि एशोसिएशन आन्दोलनमा उत्रिन बाध्य भएको हो । पहिलो चरणमा हाल प्रक्रियामा रहेका सम्पूर्ण मूल्यांकन कार्यहरू जुन जस्तो अवस्थामा छन्, त्यही अवस्थामै रोक्ने निर्णय गरिएको उनले बताए।
एनभिएले आरोप लगाएको छ कि एसबीआई बैंकले फागुन महिनादेखि निरन्तर वार्तामा बसेर पनि कुनै निष्कर्ष ननिकाली एशोसिएशनलाई झुलाउने काम गरेको छ, भने प्राइम बैंकले जेठको पहिलो साताभित्र समाधान दिने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै प्रगति देखाएको छैन।
यसअघि पनि एनभिएले वैशाख २८ गतेदेखि सानिमा बैंकविरुद्ध आन्दोलन सुरु गरेको थियो। तर, बैंकले एशोसिएनका मागहरू सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाउँदै जेठ १ गते १५ दिनको समय मागेपछि आन्दोलन स्थगित गरिएको थियो । एनभिएका अनुसार सानिमा बैंकले हाल एशोसिएशनले उठाएका अधिकांश मागहरू पूरा गरिसकेको छ र आफ्ना सूचीकृत भ्यालुयर्स इन्जिनियरहरूलाई सम्बन्धित सर्कुलरसमेत जारी गरिसकेको छ ।
त्यसैगरी, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालसँग पनि एनभिएले सहमति गर्दै आफ्ना माग सम्बोधन गराइसकेको छ । यसअघि एनआइएमबि बैंकसँगको लामो संघर्षपछि पनि एशोसिएशनले आफ्नो पक्षमा परिणाम निकाल्न सफल भएको जनाएको छ ।
एनभिएका अध्यक्ष इ.संजयकुमार महतो ले यसअघि नै आगामी असोज महिनाभित्र देशभरका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा एउटै मूल्यांकन शुल्क, एउटै फम्र्याट, एउटै आचारसंहिता र एउटै मापदण्ड लागू गराउने लक्ष्य सार्वजनिक गरिसकेका छन्। सोही अनुसार एनभिए अघि बढेको बुझिएको छ ।
संगठनले चेतावनी दिएको छ कि आफ्ना जायज मागहरू सम्बोधन गर्न आनाकानी गर्ने अन्य बैंक तथा वित्तीय संस्थाविरुद्ध पनि क्रमशः आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । एनभिएले बैंकिङ क्षेत्रमा मूल्यांकन सेवाको एकरूपता, पारदर्शिता र व्यावसायिक सम्मान सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट संकेत दिएको छ ।
एनभिएको दाबी छ—सम्पत्ति मूल्यांकनजस्तो संवेदनशील र जिम्मेवार काममा संलग्न प्राविधिक जनशक्तिको मागलाई बैंकहरुले बेवास्ता गर्दा समस्या चर्किएको हो।
एनभिएको यो कदमले बैंकिङ तथा रियल स्टेट क्षेत्रमा प्रत्यक्ष असर पर्ने देखिएको छ। मूल्यांकन सेवा बन्द हुँदा ऋण प्रवाह, घरजग्गा कारोबार र लगानी प्रक्रिया समेत प्रभावित हुने सम्भावना बढेको छ। विशेषज्ञहरूका अनुसार, यस्तो आन्दोलनले वित्तीय प्रणालीमै दबाब सिर्जना गर्न सक्छ। त्यसैले सरोकारवालाहरूले समयमै वार्ता र समाधानको बाटो खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।

