१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

बुटवलमा नेपाल भ्यालुयर्स एशोसिएशनको ३१औं तालिम सुरु, ३० इन्जिनियर दीक्षित हुने


2.5k
Shares

बुटवल, जेठ २९ — नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) लुम्बिनी प्रदेशको आयोजनामा तीन दिने ३१औं व्यावसायिक तालिम आजदेखि बुटवलस्थित होटल हायात प्यालेसमा सुरु भएको छ। मूल्यांकन तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा लुम्बिनी प्रदेशका इन्जिनियरहरूको उल्लेखनीय सहभागिता रहेको छ।

तालिम उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका निमित्त निर्देशक जीवन प्रकाश पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले व्यावसायिक मूल्यांकन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको आवश्यकता औंल्याउँदै यस्ता तालिमले इन्जिनियरहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा नेपाल भ्यालुअर्स एशोसिएशनका केन्द्रीय उपाध्यक्ष ई दिनेशकुमार पाठक, ई यमलाल पाण्डे तथा पूर्व केन्द्रीय उपाध्यक्ष ई जीवन अर्याल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष ई गोविन्द पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रम सञ्चालन ई तुलसीराम वस्तीले गरेका थिए भने स्वागत मन्तव्य ई रवि पाण्डेले गरेका थिए।

तीन दिने तालिमका मुख्य प्रशिक्षकका रूपमा नेपाल भ्यालुअर्स एशोसिएशनका केन्द्रीय उपाध्यक्ष ई दिनेशकुमार पाठक र वरिष्ठ ई सुशीलकुमार अमात्य रहेका छन्। तालिमबाट ३० जना इन्जिनियर दीक्षित हुने आयोजकले जनाएको छ।

एनभिएले आयोजना गर्दै आएको यस्तो तालिमले मूल्यांकन क्षेत्रमा दक्ष, सक्षम र व्यावसायिक जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया