सत्तारुढ दलका सांसदले सदनमा जे बोल्दा पनि संविधान बाधक नबन्ने हो ?
काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
हिजो बसेको प्रतिनिधि सभाको बैठकमा पराजुलीले न्यायाधीशहरूको विषयमा बोलेको भन्दै आलोचना गरे।
‘महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ। तर सत्तारुढ दलकै एक वरिष्ठ माननीयज्यूले गरिमामय सदनको रोस्ट्रममा उभिएर दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काएर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक, अराजनीतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा १०५ पढ्नुभएन कि ? ‘ राइले भने–उहाँ संविधानभन्दा के माथि हो ? के सत्तारुढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने होरु रोस्ट्रममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख टुलुटुलु हेरेर बस्न मिल्दैन। मैले हिजै उभिएर यस विषयमा ध्यानाकर्षण गराउने तयारी गरेको थिएँ, तर मैले सोचेँ यो संसद्को गरिमा र संविधानसँग जोडिएको विषयमा सभामुख महोदय आफैँले रुलिङ गर्नुहुन्छ। तर सायद सभामुख महोदयको त्यसतर्फ ध्यान पुग्न सकेन।’
राई बोलेपछि रास्वपा सांसद पराजुलीले उठेर विरोध जनाए। पराजुली उठेपछि सभामुखले कुन नियमावली अनुसार विरोध होरु भन्दै प्रश्न गरे।
सभामुखले हिजोको अभिव्यक्ति आफूले हेर्न बाँकी रहेको भन्दै पराजुलीलाई रोकेर सदन अगाडि बढाए।

