२५ वर्षपछि स्पीरिट एयरलाइन्स बन्द : १४ हजार कर्मचारी एकैपटक प्रभावित
अमेरिका: अमेरिकाको चर्चित कम लागतको हवाई सेवा प्रदायक स्पीरिट एयरलाइन्सले मे २ को बिहान ३ बजेदेखि आफ्नो सम्पूर्ण उडान सेवा स्थायीरूपमा बन्द गर्ने निर्णय गरेपछि अमेरिकी उड्डयन क्षेत्रमा ठूलो तरंग पैदा भएको छ।
कम्पनीको औपचारिक घोषणा सार्वजनिक हुनुअघि नै कर्मचारीहरूमा हलचल सुरु भएको थियो । घोषणा हुनुभन्दा करिब एक घण्टाअघि नै स्पीरिटका करिब १४ हजार कर्मचारीहरूले मिडिया रिपोर्ट र युनियन सन्देशमार्फत आफ्नो जागिर गुम्ने खबर थाहा पाएका थिए।
राति १ बजेतिरAssociation of Flight Attendants ले आफ्ना करिब ५ हजार सदस्यलाई पठाएको सन्देशमा “हाम्रो जीवनकै सबैभन्दा कठिन सूचना” भन्दै स्पीरिटले सेवा पूर्णरूपमा बन्द गर्ने जानकारी दिएको थियो।
अचानक आएको यो निर्णयले कर्मचारीहरू स्तब्ध बनेका छन् भने विश्लेषकहरूले यसलाई पछिल्ला वर्षहरूमा अमेरिकी उड्डयन क्षेत्रकै सबैभन्दा ठूलो आकस्मिक ‘सटडाउन’का रूपमा व्याख्या गरेका छन्। २५ वर्षयता अमेरिकी उड्डयन सेवामा यति ठूलो स्तरमा कुनै प्रमुख एयरलाइन्स बन्द भएको विरलै देखिएको छ।
कोभिडपछिको आर्थिक संकट, लगातारको घाटा र इन्धन मूल्यमा भएको चर्को वृद्धिले स्पीरिटलाई थप दबाबमा पारेको बताइएको छ। विशेषगरी इरान युद्धपछि बढेको हवाई इन्धनको मूल्यले कम्पनीको वित्तीय अवस्था झन् कमजोर बनाएको थियो।
स्पीरिटको सेवा बन्द भएसँगै सस्तो भाडामा यात्रा गर्ने हजारौँ यात्रु प्रत्यक्ष प्रभावित हुने भएका छन्। कतिपय यात्रु उडानकै क्रममा वैकल्पिक एयरलाइन्स खोज्न बाध्य भएको बताइएको छ।
स्पीरिट एयरलाइन्सको बन्दसँगै अमेरिकी कम लागत उड्डयन बजारमा ठूलो खालीपन सिर्जना हुने र यसको प्रभाव यात्रु, कर्मचारी तथा समग्र हवाई उद्योगमा लामो समयसम्म पर्ने अनुमान गरिएको छ।

