१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बल्खुबाट सुरु भयो अतिक्रमण हटाउने अभियान, नदी किनारका बस्तीमा तनाव


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अतिक्रमित बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो चरणअन्तर्गत शुक्रबार बिहानैदेखि बागमती करिडोरको बल्खु क्षेत्रमा डोजर चल्न थालेको छ।

स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बस्तीका बासिन्दा हतारहतार सामान सारिरहेका छन्। घरटहरा भत्काउने कार्यसँगै प्रभावित क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना जारी गर्दै बिहीबार साँझसम्म बस्ती खाली गर्न अन्तिम अल्टिमेटम दिएको थियो। उक्त समयसीमा सकिएसँगै आजदेखि सरकार बल प्रयोग गरेर अतिक्रमित संरचना हटाउने चरणमा प्रवेश गरेको हो।

सरकारको योजनाअनुसार टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरीलगायत क्षेत्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गराइनेछ।

यसअघि पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाइसकिएको छ।

सरकारले सार्वजनिक जग्गा संरक्षण र नदी करिडोर व्यवस्थापनलाई अभियानको मुख्य उद्देश्य बताएको छ भने प्रभावित परिवारहरूले वैकल्पिक व्यवस्थाविना गरिएको हटाउने कदमप्रति असन्तुष्टि जनाइरहेका छन्। काठमाडौं उपत्यकामा अतिक्रमण हटाउने अभियान अब थप तीव्र हुने संकेत देखिएको छ।

प्रतिक्रिया