कांग्रेसमा एकताको पहल
काठमाडौं । नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन युवाहरूले पहल सुरु गरेका छन्।आइतबार युवा नेताहरूले जय नेपाल फाउण्डेसनको कार्यालय अनामनगरमा छलफल गर्दै दबाबमूलक कार्यक्रम अघि बढाउने निर्णय गरेका हुन्। नेपाली कांग्रेसभित्र विद्यमान ध्रुवीकरणलाई सच्याउँदै एकताका लागि देशभरबाट युवाहरूले नेतृत्वलाई दबाब दिन जरुरी भएको भन्दै सचेतना अभियान सञ्चालन गरिने बताएका छन्।
कांग्रेसमा संस्थापन र इतर पक्षले समानान् ढंगले आ-आफ्ना गतिविधि अघि बढाएपछि युवाहरूले पार्टीलाई एकताबद्ध बनाउन दबाब अभियान सञ्चालन गर्ने भएका हुन् । देशव्यापी दबाबमूलक कार्यक्रमको कार्यतालिका केही दिनभित्रै सार्वजनिक हुने नेता उनिहरुले जानकारी दिएका छन्।
छलफलमा सहभागी युवा नेताहरुमा प्रतिमा गौतम, उमेशजंग रायमाझी, पुष्प पराजुली, बिनोद कायस्थ, नयनसिं महर, बद्री अर्याल, निर्मला क्षेत्री, मनोजमणि आचार्य, बालचन्द्र पौडेल, सरोज थापा, पुष्प शाही,अन्जन लामा, विष्णु पन्थी, लेखनाथ पोख्रेल, ध्रुव पाण्डे, सन्तोष भट्टराई, सुदन वली लगायतका युवा नेताहरूको भेलाले यस्तो निर्णय लिएको हो ।
कांग्रेस सभापति गगन थापाले पनि आफ्नो कार्यकालमा सभापतिको हैसियतले पार्टीलाई सबै नेता कार्यकर्ताको अपनत्व हुनेगरी एकताबद्ध र सशक्त बनाउन आफूले पहल गर्ने बताएका थिए ।
पोखरामा आयोजित सभामा सम्बोधन गर्दै उनले १५ औँ महाधिवेशन एकताबद्ध ढंगले सम्पन्न गराउने योजनामा आफू रहेको उनको भनाइ थियो । युवा नेताहरूले पनि महाधिवेशनअघि पार्टीलाई अन्य पार्टीहरुको तुलनामा अब्बल र एकताबद्ध बनाउन दबाब दिने भएका हुन् ।


