जापानमा अध्ययनरत विद्यावारिधिका विद्यार्थी पौडेलले पाए ‘रोटरी योनेयामा छात्रवृत्ति’
काठमाडौँ । जापानमा अध्ययनरत नेपाली विद्यार्थी संजोग पौडेलले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि प्रतिष्ठित मानिने ‘रोटरी योनेयामा छात्रवृत्ति’ पाएका छन् । उनी हाल जापानमा वातावरण व्यवस्थापन विषयमा विद्यावारिधि अध्ययनरत छन् ।
उनले वातावरणीय शिक्षा तथा जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धिमा सक्रिय योगदान दिँदै आएका उनले पछिल्लो तीन वर्षदेखि नेपालका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विद्यालयहरूमा वातावरणीय साक्षरता अभिवृद्धिका लागि समेत काम गर्दै आएका छन् । जापान सरकारको शिक्षा तथा प्रविधि मन्त्रालय र नागोया सांग्यो विश्वविद्यालयको समन्वयमा उनले विद्यालयस्तरमा वातावरणीय चेतना विस्तार गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका हुन् । हाल उनी कार्बन साक्षरता र जलवायु परिवर्तन सम्बन्धी जनचेतना विस्तार क्षेत्रमा केन्द्रित भएर काम गरिरहेका छन् । विद्यावारिधि अध्ययन सकिएपछि वातावरणीय शिक्षालाई अझ व्यवहारिक, समुदायमैत्री र प्रभावकारी बनाउने दीर्घकालीन योजना रहेको उनले बताए ।
पौडेलले सन् २०२४ मा जापानको वातावरण मन्त्रालयद्वारा प्रदान गरिने क्लाइमेट चेन्ज एक्सन अवार्ड बाट सम्मानित भएका थिए । उनले २०२५ मा अन्तर्राष्ट्रिय सांस्कृतिक तथा शैक्षिक योगदानका लागि भन्दै आइची इन्टरनेशनल एक्सचेन्ज अवार्ड समेत पाएका थिए । त्यस्तै, आफ्नो अनुसन्धानलाई निरन्तरता दिन भन्दै दाइको फाउन्डेशन जापानबाट अनुसन्धान छात्रवृत्ति पनि पाएका थिए ।


