केदारनाथमा भारी हिमपात,चट्याङबाट ५ जनाको मृत्यु
एजेन्सी । भारतका उत्तरी र पश्चिमी राज्यहरूमा गर्मी मौसममा वर्षा, असिना र हिमपात भइरहेको छ। शनिबारको हिमपातपछि केदारनाथको सम्पूर्ण क्षेत्र सेताम्मे भएको छ।
रोहताङ दर्रा नजिकै भारी हिमपातका कारण अटल सुरुङ बन्द गरिएको छ।
लाहौल–स्पितिको उच्च पहाडहरूमा हिमपात जारी छ । हिमाचलको राजधानी शिमलामा पनि शनिबार शक्तिशाली आँधीसँगै हल्का वर्षा भएको छ।
शुक्रबार राजस्थानको जैसलमेर र बीकानेरका मरुभूमि जिल्लाहरूमा भारी असिना परेको छ । अजमेर र बेवारमा आँधीले रूखहरू उखेलेको छ र टिनका शेडहरू उडाएको छ । आगामी तीन दिनसम्म पनि यस्तै मौसम हुने अनुमान गरिएको छ ।
उत्तर प्रदेशको कोसिकाला अन्न बजारमा १०,००० बोरामा भण्डारण गरिएको ५,००० क्विन्टल गहुँ वर्षाले भिजेको छ । यसअघि राज्यका विभिन्न स्थानमा चट्याङ लागेर पाँच जनाको मृत्यु भइसकेको छ।
दिल्ली र पञ्जाब सहित ११ राज्यमा शनिबार भारी वर्षाको चेतावनी जारी गरिएको छ। शुक्रबार मध्य प्रदेशका ३६ जिल्लामा वर्षा भएको थियो र आज असिना पर्ने सम्भावना छ।



