९ चैत्र २०८२, सोमबार | March 23, 2026

‘डे वान’ बाटै कामको दबाबः बालेनको टिम कडा तयारीमा


415
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आगामी चैत्र १३ गते प्रधानमन्त्रीको शपथ लिदैछन् । सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चा भइरहेका शाहको टिम सरकार गठनअघि नै तीव्र तयारीमा जुटेको छ ।

प्रधानमन्त्री बनेपछि पहिलो दिन (‘डे वान’) बाटै ठोस नतिजा दिनुपर्ने दबाबलाई मध्यनजर गर्दै उनका निकट सहयोगीहरू रणनीतिक गृहकार्यमा व्यस्त रहेका छन् ।

बालेननिकट एक नेताका अनुसार यो कुनै सामान्य सरकार नभई ऐतिहासिक जनमतबाट आएको बलियो र लोकप्रिय सरकार हुने भएकाले जनताका अपेक्षाहरू पनि असाधारण छन् । “पहिलो दिनदेखि नै परिणाम दिनुपर्छ भन्ने दबाब छ, त्यसैले तयारी अत्यन्त गम्भीर ढंगले भइरहेको छ,” उनले भने ।

सरकार गठनसँगै कार्यसम्पादनमा कुनै ढिलाइ नहुने संकेत दिँदै बालेनले मन्त्री चयनदेखि नै कडाइ अपनाउने योजना बनाएका छन् । मन्त्रीहरूले अपेक्षित प्रदर्शन दिन नसकेमा वा अनियमिततामा मुछिएमा कुनै पनि प्रकारको सम्झौता नगरी तत्काल पदमुक्त गर्ने स्पष्ट नीति लिइने स्रोतले जनाएको छ ।

बालेनको यो कडा र परिणाममुखी शैलीले एकातिर जनतामा आशा जगाएको छ भने अर्कोतिर राजनीतिक वृत्तमा चासो र बहस पनि बढाएको छ । अब सबैको नजर ‘डे वान’ बाटै सुरु हुने उनको कार्यशैली र निर्णयहरूमा केन्द्रित भएको छ ।

प्रतिक्रिया