दलले जनतालाई छोडेपछि जनताले दल छोडे – विष्णु पन्थी
काठमाडौं, २६ फागुन । राजनीतिक विश्लेषक विष्णु पन्थीले पछिल्लो चुनावी परिणामलाई परम्परागत दलहरूबाट जनताको बढ्दो असन्तुष्टिको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार जनताले पुराना राजनीतिक दलप्रति विश्वास गुमाउँदै गएको सन्देश यस चुनावले दिएको छ।
पन्थीका अनुसार जनताको असन्तुष्टिको मुख्य कारण संविधान संशोधन वा अन्य कुनै जटिल राजनीतिक मुद्दा होइन। बरु, अहिलेको नेपालको संविधान २०७२ मै व्यवस्था गरिएका जनताका अधिकारमाथि राजनीतिक दलहरूले निरन्तर प्रहार गरेको विषयले जनतामा आक्रोश बढाएको हो।
उनले भने, “काँग्रेस र कम्युनिस्ट दलका नेताहरूले जनताको असन्तुष्टिको वास्तविक कारण बुझ्नुभन्दा विषयान्तर गर्न खोजिरहेका छन्।” उनका अनुसार सत्ता र शक्तिको प्रयोग दलालहरूको घेराभित्र बसेर गरिँदा जनतासँग दलहरूको दूरी झन् बढ्दै गएको छ।
पन्थीको भनाइमा जब दलहरूले जनतालाई चटक्कै छोडेर दलालतन्त्रको अभ्यास गर्न थाले, तब जनताले पनि ती दलहरूलाई त्याग्ने निर्णय गरे। यही कारण अहिलेको चुनावमा देखिएको जनमतलाई सामान्य रूपमा बुझ्न सकिने उनले बताए।
उनले थपे, “जनताले गरेको निर्णय असाधारण होइन, यो स्वाभाविक प्रतिक्रिया हो। जनताको अधिकार र अपेक्षालाई बेवास्ता गर्दा परिणाम यही हुन्छ।”
विश्लेषक पन्थीका अनुसार अब राजनीतिक दलहरूले जनताको भावना, अपेक्षा र अधिकारलाई केन्द्रमा राखेर राजनीति नगरे आगामी दिनमा अझ ठूलो राजनीतिक परिवर्तन देखिन सक्ने सम्भावना रहेको छ।


