रास्वपाको बहुमतपछि प्रदीप पौडेलको बधाई: “देशहितका काममा हाम्रो साथ रहनेछ”
काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम निर्वाचन २०८२ मा बहुमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वर्तमान व्यवस्थाभित्रै पनि जनताबाट बहुमत प्राप्त गर्न सकिने कुरा यो निर्वाचन परिणामले प्रमाणित गरेको बताएका छन् ।
उनले अब बन्ने सरकारबाट देश र जनताको हितमा काम हुने अपेक्षा व्यक्त गर्दै त्यस्ता सकारात्मक कदमहरूमा आफ्नो साथ र समर्थन रहने प्रतिबद्धता जनाएका छन्।
उनका अनुसार देशका दीर्घकालीन र दुरगामी महत्वका विषयहरूमा सबै राजनीतिक दलहरूबीच साझा राष्ट्रिय सहमति निर्माण गर्न आवश्यक रहेको छ। उनले यस्तो सहमतिका लागि सबै पक्षलाई आह्वान पनि गरेका छन्।
पौडेलको भनाइलाई राजनीतिक वृत्तमा नयाँ सरकारलाई सहयोग गर्ने सकारात्मक संकेतका रूपमा हेरिएको छ।
नयाँ जनादेशसँगै अब बन्ने सरकारबाट सुशासन, विकास र जनअपेक्षाअनुसार काम हुने अपेक्षा आम रूपमा गरिएको छ।


