राम सिं तामाङको घरदैलो अभियान: स्थानीयले गरे स्वतःस्फूर्त रूपमा स्वागत
सिन्धुपाल्चोक क्षेत्र नं। २ मा राम सिं तामाङ ले घरदैलो अभियान तीव्र रूपमा अगाडि बढाएका छन्। उज्यालो नेपाल पार्टी का तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका तामाङ यतिबेला गाउँ–गाउँ, टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।
घरदैलो अभियान सुरु भएदेखि नै स्थानीय बासिन्दाको उत्साह उल्लेखनीय देखिएको छ। किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग भेटघाट गर्दै तामाङले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका विषयमा आफ्ना स्पष्ट योजनाहरू प्रस्तुत गरिरहेका छन्।
विगतमा धेरै आश्वासन पाइए पनि अपेक्षित काम नभएको गुनासो सुनिँदै आएको सिन्धुपाल्चोक–२ मा यसपटक काम गर्ने नेतृत्वको खोजी भइरहेको स्थानीयहरू बताउँछन्।
विशेषगरी युवावर्ग तामाङको अभियानमा सक्रिय रूपमा सहभागी देखिएको छ। सीपमूलक तालिम, स्थानीय स्तरमै रोजगारी सिर्जना, कृषि र धार्मिक पर्यटन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त शासनको प्रतिबद्धताले धेरै मतदाता प्रभावित भएका छन्। “अब भाषण होइन, परिणाम चाहिन्छ” भन्ने जनभावनालाई आत्मसात् गर्दै तामाङले पारदर्शी र जवाफदेही नेतृत्व दिने वाचा गरेका छन्।
घरदैलोका क्रममा धेरै स्थानमा स्थानीयले स्वतःस्फूर्त रूपमा स्वागत कार्यक्रमसमेत आयोजना गरेका छन्। केही स्थानमा युवाहरूले टोली नै बनाएर अभियानलाई सहयोग गरिरहेका छन्। सिन्धुपाल्चोक–२ का बासिन्दा यसपटक उज्यालो नेपाल पार्टीका उम्मेदवार राम सिं तामाङलाई मत दिन आतुर रहेको प्रतिक्रिया सार्वजनिक रूपमा दिन थालेका छन्।
घरदैलो अभियानसँगै चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। जनताको घरदैलोमै पुगेर समस्या सुन्ने र समाधानका ठोस आधार प्रस्तुत गर्ने शैलीका कारण तामाङको लोकप्रियता बढ्दो क्रममा रहेको देखिन्छ। समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका उनले अब विकास र सुशासनको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।


