८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

वैदिक सनातन सभ्यता संरक्षणमा कांग्रेसको स्पष्ट प्रतिबद्धता


February 20, 2026
664
Shares
News summary
  • नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमार्फत वैदिक सनातन सभ्यता, सांस्कृतिक विविधता र ऐतिहासिक विरासत संरक्षणलाई राष्ट्रिय एकताको आधार मानेको छ।
  • पार्टीले नेपालको आध्यात्मिक पहिचानलाई सुदृढ गर्दै समावेशी, सहिष्णु र आधुनिक समाज निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
  • धार्मिक सहअस्तित्व, प्रकृतिमैत्री परम्परा र सांस्कृतिक कूटनीतिमार्फत राष्ट्रिय पुनर्जागरण अघि बढाउने लक्ष्य कांग्रेसले अघि सारेको छ।

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमार्फत वैदिक सनातन सभ्यता, सांस्कृतिक विविधता र ऐतिहासिक विरासतको संरक्षण तथा प्रवर्द्धनलाई राष्ट्रिय एकताको मूल आधारका रूपमा अघि सारेको छ। पार्टीले आधुनिक, सभ्य, समावेशी र सहिष्णु समाज निर्माणका लागि नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने स्पष्ट सङ्कल्प व्यक्त गरेको हो ।

प्रतिज्ञापत्रमा नेपाललाई हजारौँ वर्षदेखि आध्यात्मिक परम्परा, दर्शन र सांस्कृतिक अभ्यासको केन्द्रका रूपमा वर्णन गर्दै हिमालय क्षेत्रले सनातन वैदिक संस्कृति संरक्षणमा खेलेको भूमिकालाई विशेष रूपमा उल्लेख गरिएको छ। हिमालयको काखमा विकसित सभ्यताले समाज, परिवार र जीवनशैलीलाई नैतिक मार्गदर्शन प्रदान गर्दै आएको कांग्रेसको भनाइ छ।

यहाँ क्लिंक गर्नुहोस् नेपाली कांग्रेसको प्रतिज्ञापत्र हेर्न ।

पार्टीले नेपाललाई विश्व शान्ति र आध्यात्मिक चेतनाको प्रतीकका रूपमा स्थापित गर्न सकिने “गुरू राष्ट्र”को रूपमा व्याख्या गर्दै बुद्ध जन्मभूमिको गौरवलाई राष्ट्रिय पहिचानसँग जोडेको छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति विश्वभरिका श्रद्धालुहरूको आकर्षणलाई सांस्कृतिक कूटनीति र पर्यटन विकाससँग जोड्ने नीति लिइने घोषणापत्रमा उल्लेख छ।

कांग्रेसले किरात तथा प्रकृतिपूजक परम्परालाई पनि नेपालको मौलिक सभ्यताको महत्वपूर्ण आधार मान्दै प्रकृति–मैत्री जीवनशैली र प्राकृतिक सम्पदाको संरक्षणलाई आजको जलवायु सङ्कटको सन्दर्भमा विश्वका लागि उदाहरणीय अभ्यासका रूपमा प्रस्तुत गरेको छ।

त्यस्तै, हिन्दू, बौद्ध, किरात, मुस्लिम, क्रिश्चियन, सिख, जैन, बोन र बहाई लगायतका विभिन्न धार्मिक समुदायबीचको सहअस्तित्वलाई नेपालको विशिष्ट पहिचान बताउँदै धार्मिक सहिष्णुता र सांस्कृतिक एकतालाई राष्ट्रिय पुनर्जागरणको आधार बनाइने पार्टीको धारणा छ।

नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमार्फत नेपालको आध्यात्मिक–सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै राष्ट्रिय गौरव, पर्यटन, सामाजिक सद्भाव र सांस्कृतिक नेतृत्व सुदृढ गर्ने लक्ष्य अघि सारेको जनाएको छ।

प्रतिक्रिया