१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

राजनीति बिकल्पहिन हुँदैन !


February 9, 2026
7.6k
Shares

विष्णु पन्थी । पार्टीमा युवाको नारा लगाउने नै आजकल बुढा भएछन्, ती उमेरका आधारमा आफूलाई युवा भनिएका भूतपूर्व युवा चाहिँ चुनावमा उमेदवार भएका रहेछन् ।

आजकलका युवाले उनलाई प्रश्न गर्दा चाहिँ अति नै अमिलो अनुभूति भएको व्यवहार प्रकट गरेको देख्न पाइयो । यो काल्पनिक अवस्था नभएर जीवन्त चित्र नै हो ।

राजनीतिमा सिद्धान्तको बाटो छोडेर भड्किला र केवल आफू केन्द्रित नारा मात्र लगाउँदा धेरै नै मुश्किल खेप्नु पर्छ भन्ने हेक्का गर्नुपर्छ । जनतालाई केवल झुक्याउने र दलालको घेरामा रमाउने नवसामन्ती सोंचबाट पीडित मानिसको मुकुण्डो जनताले उतरदिन सक्छन् ।

यसो हुनसक्यो भने प्रजातन्त्र र निवार्चनले अर्थ राक्दछ । जनताकै बीचबाट खडा भएर तर भनिएका नीति र सिद्धान्तमा बुट बजार्दा पनि जनता नै पछि लागिरहन्छन् भन्ने नियत राखेर जनतासँग फेस गर्न खोज्नुलाई नै महानता ठान्ने हो भने त तिनलाई फूलका ठूला ठूला माला नै लगाइदिनु पर्छ । अन्यथा लाज सरम भन्ने चिजले काम गर्ने भए त्यस्ता कथित नेता वा पार्टी वा समूहले पछुतो गर्नुपर्ने हो । नसक्ने भएपछि बाटो छाड्नु पर्ने हो । नेपालमा दुई छाक खानकै लागि त्यति दुःख छैन । ज्यान पाल्न त सकिन्छ हौ ।

राजनीति बेइमानीको खेल होइन । सच्चाई र इमान्दारी प्रकट हुनुपर्दछ । राजनीतिमा कुटिलताको बाटो होइन धर्मको बाटो रोज्नु पर्छ । सत्यमेव जयते, यत्तिकै त भनिएको छैन । सत्ता र शक्तिकोको प्रयोग अहिलेको दुनियाँमा देश र जनताका निम्ति नै हो कथित् नेतातन्त्र वा दलालतन्त्र लागि होइन । यो बुझेर जनताको विश्वास डगमगाउन दिनुहुन्न अन्यथा अविश्वासको भूमरी मडारिदै गयो भने देशै नरहने स्थिति हुनसक्छ ।

राजनीतिमा सधै नै आशाको अवस्था कायम हुनुपर्दछ, कसरी रु जसरी भएपनि । नयाँ विश्वास र भरोसा जन्मनै पर्छ चाहे जतिसुकै कठिन परिस्थिति होस् । राजनीतिमा जोखिम उठाउनुपर्ने क्षणहरू आउने गर्दछन् । नेपालको सन्दर्भमा यो समय आएको छ । चुनावबाट राजनीतिको कठिन मोडले पार पाएन भने पनि अर्को विकल्प जीवित नै रहनुपर्दछ ।

पन्थी विश्लेषक हुन् ।

प्रतिक्रिया